नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले “नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजना मंगलबार सार्वजनिक गरेको छ। यो जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक जीवन बीमा भएको कम्पनीको दाबी रहेको छ।
विकासोन्मुख देश र भौगोलिक बनावटका कारणबाट नेपालको जीवन यापनमा जोखिम रहेको पाइन्छ। विकासको गति बढेसँगै ठूला ठूला परियोजनाहरू, हाइड्रोपावरहरू, भवन निर्माण लगायतका निर्माण कार्य तीव्रगतिमा अघि बढिरहेको अवस्थामा जोखिम बढी रहने भन्दै कम्पनीले यो योजना ल्याएको बताएको हो।
यसरी बढी जोखिमयुक्त पेशामा लागेका व्यक्तिको एउटै बीमालेखबाट अधिकतम जोखिम वहन गर्ने विशेषता भएको बीमा योजनाको माग भएको सर्वेक्षणका आधारमा यस्तो योजना ल्याएको कम्पनीले जिकिर गरेको छ ।
यस बीमा योजनाको मुख्य आकर्षण भनेको बीमा अवधिभित्र बीमितको दुर्घटनाका कारण मृत्यु भएमा बीमाङ्क रकमको तेब्बर र आर्जित बोनस बीमितका इच्छाइएको व्यक्तिले भुक्तानी प्राप्त गर्न सक्नेछन्।
यो बीमालेख १८ वर्षदेखि ६० वर्ष उमेर समूहका व्यक्तिले लिन सक्नेछन्। ५ वर्षदेखि अधिकतम ३० वर्षसम्म अवधिको बीमा लिन सकिनेछ भने १८ वर्षदेखि ६० वर्षसम्मै घातक रोग उपचार खर्च योजना ऐच्छिक सुविधा लिन सकिनेछ। अतिरिक्त बीमाशुल्क तिरेर बीमाङ्क रकम बराबर वा अधिकतम पचास लाखसम्मको घातक रोग उपचार खर्च योजनामा सामेल हुन सकिनेछ।
यो बीमालेखको बीमा समाप्ति अधिकतम ६५ वर्ष उमेरमा हुनेछ। पचास हजारदेखि एक करोडसम्मको बीमाङ्क रकमको बीमा गर्न सकिनेछ।
वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिकरुपमा बीमा शुल्क भुक्तानी गर्न सकिने जीवन बीमा योजनामा वार्षिक बीमा शुल्क तिर्ने तरिका लिँदा १% छुट, त्रैमासिक बीमा शुल्क तिर्ने तरिका लिँदा ३% थप र मासिक बीमा शुल्क तिर्ने तरिका लिँदा ६% थप लाग्नेछ भने अर्ध वार्षिक बीमा शुल्क तिर्ने तरिका लिँदा प्रिमियममा थप घट हुने छैन। बीमालेख चालु रही बीमा अवधि समाप्त मितिसम्म बीमित जीवित रहेमा बीमा अवधि समाप्तिको अन्त्यमा बीमाङ्क रकम र आर्जित बोनस एकमुष्ट बीमितलाई भुक्तानी दिइनेछ।
बीमालेख चालु रही बीमा अवधिभित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरू बाहेक) बीमितको मृत्यु भएमा दुई गुणा बीमाङ्क रकम र आर्जित बोनस एकमुष्ट बीमितको इच्छाइएको व्यक्तिलाई भुक्तानी दिइनेछ।
बीमा अवधिभित्र बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बीमालेखमा उल्लेख भएको तीन गुणा बीमाङ्क रकम र आर्जित बोनस रकम एकमुष्ट बीमितको इच्छाइएको व्यक्तिलाई भुक्तानी दिइनेछ।
यदि बीमालेखलाई निरन्तरता दिन नसक्ने अवस्था आएमा वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भए पश्चात् समर्पण मूल्य प्राप्त गर्न सकिनेछ।
वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भए पश्चात् बीमालेखलाई धितो राखी समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिनेछ।




