नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आन्तरिक चुनावमा आफू बलियो भएकाले १४औं महाधिवेशनमा फेरि सभापतिमा उठ्ने घोषणा गरेका छन्।
सोमबार प्रेस युनियनका आफू निकट सञ्चारकर्मीलाई बालुवाटारमा बोलाएर देउवाले फेरि पनि सभापतिमा उठ्ने र जित्ने दाबी गरेका हुन्।
६१ जिल्ला अधिवेशन र ६ वटा प्रदेशको अधिवेशनमा आफ्नो पक्षमा बहुमत देखिएलगत्तै देउवाले बालुवाटारमा फेरि सभापतिमा उठ्ने र चुनाव जित्ने घोषणा गरेका हुन्।
एक सय ६० निर्वाचन क्षेत्रको अधिवेशन, ६१ जिल्ला अधिवेशन र ६ वटा प्रदेश अधिवेशनमा आफ्नो पक्षको बहुमत रहेको उनको दाबी छ। देउवा पक्षले ३१ वटा जिल्ला सभापति जित हात पारेको छ। ६ मध्ये दुई प्रदेशमा सभापति जितेको छ।
देउवाले १४औं महाधिवेशन उदघाटनमा एमालेले जस्तो तडकभडक नगर्ने स्पष्ट पारे। ‘पार्टीको आन्तरिक चुनावमा भिड जम्मा गरेर के को शक्ति प्रदर्शन? यो गर्ने पक्षमा म छैन,’ देउवाको भनाइ थियो।



