फाइल फाेटाे

जवाद चक्रवातको असर नेपालमा पनि

काठमाडाैँ । बंगालको खाडीको मध्य पश्चिमी भूभागमा बनेको (जवाद) नामको सामुन्द्रिक चक्रवातको आंशिक प्रभावले देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागले शनिवार एक विशेष बुलेटिन निकालेर सो चक्रवात शनिवार बिहान ओडिसाको तटीय क्षेत्रमा पुग्ने र तत्पश्चात् उत्तर पूर्व सर्ने देखिएकाले चक्रवातका कारण नेपालमा खासै ठूलो पानी पर्ने सम्भावना नरहे तापनि यसको अप्रत्यक्ष प्रभावले शनिवार रातिबाट प्रदेश १, २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई सो प्रदेशका उच्च पहाडी तथा पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

आइतवारबाट पुनः अर्काे पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशमा पर्नसक्ने सम्भावना रहेको विभागका मौसमविद् गंगा नगरकोटीले बताए । उनका अनुसार सो पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आइतवार सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा र सो प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

सोमवारबाट यो प्रणालीले देशभर प्रभाव पारी केही स्थानमा हल्कदेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । आइतवार राति र सोमवार दिउँसो सो प्रणालीका कारण सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका १–२ स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको बताइएको छ । यो प्रणाली सोमवार रातिबाट कमजोर बन्दै जाने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागले यी मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । –राससकाे सहयाेगमा

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

४४ पदका लागि कहाँ-कहाँ हुँदैछ उपनिर्वाचन ?

काठमाडौं । आगामी मंसिर १६ गते विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ ।

प्रतिकृया दिनुहॊस