पहिलोपल्ट प्रदेश अधिवेशन गर्दै कांग्रेस

काठमाडौँ । मुलुक संघीय संरचनामा गएपछि नेपाली कांग्रेस पहिलोपल्ट प्रदेश अधिवेशन गर्दैछ । सत्तारूढ दल कांग्रेसले आफ्नो १४औँ महाधिवेशनअन्तर्गत आजदेखि सातै प्रदेशमा प्रदेशस्तरीय अधिवेशन थाल्ने भएको हो ।

सात प्रदेशका अधिवेशन प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट एकसाथ उद्घाटन गर्ने कार्यक्रम छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार दिउँसो २ बजे प्रदेश अधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ ।

उनका अनुसार प्रदेश-१ को अधिवेशन विराटनगर, २ को जनकपुर, बागमतीको हेटौँडा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको अधिवेशन धनगढीमा हुनेछ । अधिवेशनले पहिलो पटक कांग्रेसको प्रदेश कार्यसमिति चयन गर्नेछ ।

काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार १६५ प्रतिनिधि सभा क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधि र ३३० प्रदेश सभा क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधिहरूले आ-आफ्नो प्रदेशको नेतृत्व चयनका लागि मतदान गर्नेछन् । आज मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका छन् । भोलि उम्मेदवारी दर्ता गर्ने र १८ गते मतदान हुँदैछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री