मूल मुद्दाहरुमा समान धारणा बनाउन दलहरूबीच संवाद र सहकार्य आवश्यक छ: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनतासँग जोडिएका मूल मुद्दाहरुमा समान धारणा बनाउन संवाद सहकार्य आवश्यक रहेको बताएका छन्।

नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनलाई आज चितवनमा सम्बोधन गर्दै उनले दलहरुबीच नीतिगत विषयमा भएका बिमतिहरुलाई संविधानमार्फत निर्धारण गरेका विधिबाट टुङ्गो लगाउनुपर्ने बताएका हुन्। नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले भने, “त्यसलाई हामी सबैले स्वीकार गर्ने पद्धति बसाल्नु पर्दछ। नेपाली कांग्रेस पार्टी यिनै मूल्य मान्यताप्रति प्रतिबद्ध रहेको छ।”

लोकतान्त्रिक संसदीय शासन, पद्धतिको मर्मअनुसार १०औँ महाधिवेशन आयोजना गर्ने नेकपा एमालेलाई बधाई दिँदै उहाँले महाधिवेशनको पूर्ण सफलताको कामना पनि गरे। सबै मिलेर संविधानसभाबाट नयाँ संविधान बनाएको स्मरण गराउँदै उनले यसलाई संस्थागत गर्न जिम्मेवारी सबै दलहरुमा रहेको बताए।

प्रधानमन्त्री देउवाले नयाँ संविधानमार्फत लोकतन्त्रका मूल्य र मान्यतालाई संस्थागत गर्न यस अभियानमा विभिन्न राजनैतिक दलहरुसँगै नेकपा एमालेले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै हामीहरुबीच मतभेदहरु रहेको छ र त्यसैका कारण फरक राजनैतिक दलमा आबद्ध भएको बताए।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत उनका साथीहरु आफ्नो जेलका साथी भएको भन्दै देउवाले जुन अवस्था आफूहरुले भोग्याैं, अब जनताले भोग्न नपर्ने गरी काम गर्नुपर्ने बताए।

प्रधानमन्त्री देउवाले मुलुक कोरोनाले आक्रान्त भएका बेला खोप पुर्याउनु हाम्रो पहिलो कर्तव्य थियो भन्दै सबैको साथ र सहयोगले लक्ष्य हासिल गर्न सफल भएको बताए। नागरिकको जीवन रक्षा जस्तो यो महान् कार्यमा सबै राजनीतिक दल, सामाजिक संस्था तथा नागरिकहरु मित्रराष्ट्र, दातृ संस्थाहरुबाट प्राप्त सहयोगप्रति उनले सम्मान व्यक्त गरे।

प्रधानमन्त्री देउवाले लोकतान्त्रिक संविधानको भावनाअनुरुप देशमा सुशासन, सद्भाव, समृद्धि कायम गर्न आफ्नो पार्टी पद्धतिबद्ध रहेको उल्लेख गरे।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री