नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेशको खलनायक एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओली भएको बताएका छन्।
बिहीबार महोत्तरीको रामगोपालपुरमा पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले मधेशका मुद्दाहरुमा केपी ओलीले नै कुठाराघात गरेको आरोप लगाए।
आफू प्रधानमन्त्री हुँदा मधेशका मुद्दालाई केन्द्रीत गर्दै दुईपटक संसदमा संविधान संशोधन गर्न प्रस्ताव लैजाँदा केपी ओलीले नै रोकेको उनले दाबी गरे।
जनयुद्धदेखि जनआन्दोलनमासमेत माओवादी केन्द्रले मधेशका मुद्दालाई मुख्य प्राथमिकतामा राखेको उनले बताए।
माओवादी मधेसी जनताको सच्चा साथी भएको प्रमाणित गर्न आफू सिरहाबाट चुनाव लडेको तर त्यसबाट मात्र आफूले भ्रम चिर्न नसकेको उनको भनाइ छ। पछिल्लो समय मधेसी जनताले माओवादीलाई बुझ्दै गएको हुनाले आगामी चुनावमा माओवादी केन्द्र प्रदेशकै पहिलो पार्टी बन्ने अध्यक्ष दाहालले दाबी गरे।
मधेशको चुरे दोहनलाई प्रोत्साहित गर्न चुरे दोहनको नीतिसमेत एमालेले नै ल्याएको उल्लेख गर्दै उनले केपी ओली नै मधेशको भिलेन भएको तर्क गरे।




