भारतमा बिजुली विक्रीका लागि निजी क्षेत्रलाई पनि प्रवेश गराउन माग

काठमाडौं । ऊर्जा व्यवसायीहरूले भारतीय विद्युत् एक्सचेन्ज मार्केट अर्थात् खुला विद्युत् बजारमा निजीक्षेत्रलाई पनि प्रवेशका लागि अनुमति दिन सरकारसँग माग गरेका छन् ।

भारतले गत सोमवार मात्रै आफ्नो खुला बजारमा प्रतिस्पर्धी दरमा विद्युत् विक्री गर्न नेपाललाई स्वीकृति दिएको छ । उक्त सन्दर्भमा निजीक्षेत्रका ऊर्जा व्यवसायीहरूले यस्तो माग गरेका हुन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पानले) बुधवार पत्रकार सम्मेलन गर्दै भारतले विद्युत् खरीदका लागि दिएको अनुमतिको स्वागत गरेको छ । सरकार तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको निरन्तर प्रयासका कारण नेपाललाई लोडसेडिङ मुक्त गराउँदै अन्तर्राष्ट्रिय ऊर्जा व्यापारमा प्रवेश गराउनु ऐतिहासिक कार्य भएको इप्पानको भनाइ छ । सोही अवसरमा निजीक्षेत्रका ऊर्जा व्यवसायीहरूले भारतको खुला बजारमा प्रवेश गर्न सरकार समक्ष अनुमति माग गरेका हुन् ।

भारतको निर्णयअनुसार नेपालका विद्युत् व्यापार गर्ने कुनै पनि संस्थाले त्यहाँको खुला बजारमा विद्युत् विक्री गर्न पाउने छन् । तर, नेपालको प्रचलित सम्बद्ध ऐनले त्यसलाई सम्बोधन गर्न सक्दैन । नेपाल सरकारको नीतिका कारण निजीक्षेत्र त्यसमा सहभागी हुन पाउने छैनन् । तसर्थ, सरकारले आवश्यक प्रक्रिया पूरा गरेर भारतीय खुला विद्युत् बजारमा निजीक्षेत्रलाई पनि प्रवेश गर्न मिल्ने व्यवस्था गर्नुपर्ने इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।

‘भारतको यो निर्णय एकदमै स्वागतयोग्य छ । यसले वैदेशिक विद्युत् व्यापारको ढोका खोलेको छ । अब यसकै कारण हामीलाई बंगलादेशसम्म नै विद्युत् व्यापार गर्न बाटो खोलेको छ,’ उनले भने, ‘साथै, अब विद्युत् खेर जाने समस्या पनि हुने भएन । तर, अब भारतीय खुला बजारमा निजीक्षेत्रलाई पनि भाग लिन सरकारले चाँडै नीतिगत व्यवस्था गर्नुपर्छ ।’ आर्थिक अभियान दैनिकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस