एजेन्सी । संयुक्त राष्ट्र संघको खाद्य कार्यक्रमका प्रमुखले विश्वका अत्याधिक धनी मानिसहरुको सानो समुहले आफ्नो सम्पतिको थोरै हिस्सा दिने हो भने पनि त्यसले विश्वव्यापी भोकमरीको समस्या समाधान गर्न सक्ने बताएका छन् ।
डेभिड बिजलीले मंगलबारको अन्तरवार्तामा भनेका हुन्, ‘अर्बपतिहरुले केबल एक कदम अगाडि बढाउन जरुरी छ ।’ उनले यसमा विशेष गरी टेस्ला कम्पनीका मालिक एलन मस्क र अमेजोनका जेफ बेजोसको नाम उल्लेख गरेका हुन् ।
उनले थप भनेका छन्, ‘अहिले ४ करोड २० लाख बढी मानिसहरु त्यो अवस्थामा छन् जसमा, हामी उनीहरुकहाँ अहिलै पुगेनौं भने उनीहरु भोकभोकै मर्नेछन् । र तिनीहरुलाई मद्दत गर्न ६ अर्ब डलर पर्याप्त हुनेछ । यो धेरै जटिल कुरा होइन ।’ अहिले टेस्लाका प्रमुख एलन मस्कको सम्पति झण्डै २८९ अर्ब डलर रहेको छ अर्थात बिजलीले उनीसँग केबल २ प्रतिशत दानको अपील गरेका हुन् ।
महामारी सुरु भएदेखि अमेरिकामा मात्र अर्बपतिहरुको सम्पति दुई गुणा भन्दा धेरैले वृद्धि भएको छ । रिपोर्टका अनुसार अमेरिकी अर्बपतिहरुको कूल सम्पति मिलाउँदा ५.०४ ट्रिलियन डलर अर्थात ५० खर्ब ४० अर्ब डलर ( करिब ६ हजार ४८ खर्ब रुपैँया ) रहेको छ ।
जलवायु परिवर्तन अनि कोभिडका कारण पनि धेरै मुलुकहरुमा भोकमरी सिर्जना हुने स्थिति आएको छ ।
जस्तै अहिले मात्र अफगानिस्तानका आधा बढी जनता, झण्डै २ करोड २८ लाख मानिसहरु चरम भोकमरी संकटमा रहेको सोमबार सार्वजानिक विश्व खाद्य कार्यक्रमले रिपोर्ट गरेको छ । त्यहाँ अचानकको बेरोजगारी र तरलता अभावले देशलाई मानव संकटको चरम स्थितिमा पुर्याएको छ । यसमा पाँच वर्ष मुनि उमेरका ३२ लाख बालबालिका पनि ठूलो जोखिममा रहेको रिपोर्टको निष्कर्ष छ ।
बाइडेन प्रशासनको अर्को नयाँ रिपोर्टले पनि गत हप्ता चेतावनी दिँदै जलवायु परिवर्तनले निम्त्याउने समस्याहरु विश्वभर सबै सरकारका लागि संकट बन्ने बताइएको थियो । संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमले प्रक्षेपण गरे अनुसार इथियोपियाको तिग्रे क्षेत्रमा मात्र ५२ लाख मानिसहरुलाई तत्कालै खाद्य सहयोगको आवश्यक छ ।
त्यहाँका प्रधानमन्त्री एबी एहमद सो क्षेत्र विरुद्ध उत्रिएपछि गत वर्ष हजारौं सर्वसाधारण मारिएका हुन् भने २० लाख बढी विस्थापित भएका छन् । यस्तोमा मानवीय सेवा सम्बन्धी संघसंस्थाहरुले आवश्यक सरसामान आपूर्ति गर्न असमर्थ भइरहेका छन् ।
बिजली भन्छन्, ‘मलाई पनि थाहा छैन अब हामीले कहाँबाट खाद्य सामग्री ल्याउने । हामीसँग इन्धन पनि सकिसक्यो, कर्मचारीहरुलाई तिर्न नगद पनि अभाव छ । पैसा छैन र ट्रक भित्र्याउन पनि सकिरहेका छैनौं ।’



