प्राकृतिक प्रकोप पीडित जनतालाई राहत उपलब्ध गराउन सरकारसँग राप्रपाको माग

पाँचथर ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँचथरले प्राकृतिक प्रकोपबाट पीडित जनतालाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ।

केही दिन यताको अविरल वर्षाबाट पाँचथर जिल्लामा ठूलो मानवीय क्षति भएको भन्दै राप्रपा पाँचथरले आपतकालीन राहत र स्वास्थ्य उपचारको माग गरेको हो। वर्षाकै कारण अवरुद्ध भएका सडकहरु सुचारु गर्न समेत सरकारको ध्यानाकर्षण गरेको छ ।

राप्रपा पाँचथरका सह–अध्यक्ष राजकुमार जोशीले सार्वजनिक अपिल जारी गर्दै भने, ‘केही दिन यताको अविरल वर्षाले पाँचथर जिल्लामा जनधनको ठूलो क्षति भएको छ। प्राकृतिक प्रकोपको यस दुःखद घडीमा राप्रपा पाँचथरको तर्फबाट ज्यान गुमाउने जिल्लाबासीका मृत आत्माको चिर शान्तिको कामना गर्दछौं।’

उनले भने, ‘पहिरो लगायतका प्राकृतिक प्रकोपको क्रममा आफन्त गुमाउने परिवारजन, घर गोठ गुमाउने स्थानीय जनता र कृषि उब्जनीको क्षति व्यहोर्ने किसानहरुको राहत, घाइतेहरुको स्वास्थ्य उपचारका लागि तत्काल राहत सहयोग उपलब्ध गराउन सरकारसँग माग गर्दछौं।’

राप्रपा नेता जोशीले भने, ‘अविरल वर्षाकै क्रममा जिल्लाका महत्वपूर्ण सडकहरु अवरुद्ध भएका छन्, तिनलाई सुचारु गर्न समेत सरकारको ध्यानाकर्षण गर्दछौं।’

 

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

मतगणना अन्तिमतिर पुग्दा बझाङमा एमालेले कांग्रेस उछिन्यो (मतसहित)

काठमाडौं । बझाङमा प्रदेश सभा क्षेत्र नम्बर १ (१)को फेरि एमालेले अग्रता लिएको छ । …

प्रतिकृया दिनुहॊस