देशभरिका बालबालिकालाई कात्तिक ७ गतेदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालिएको छ। छ महिनादेखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ खुवाउन थालिएको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत छ महिनादेखि ५९ महिना उमेरसमूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन थालिएको छ। सधैँ कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ खुवाउँदै आएकामा दसैँ परेकाले कात्तिक ७ र ८ गते खुवाउन थालिएको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख केदार पराजुलीले भिटामिन ‘ए’ छ महिनादेखि ११ महिनासम्मका बालबालिकालाई एक लाख युनिट र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई दुई लाख युनिट खुवाइनेछ। सोही अवसरमा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधिसमेत खुवाइनेछ।
२०० मिलिग्राम एकदेखि दुई वर्षका बालबालिकालाई र ४०० मिलिग्राम दुईदेखि पाँच वर्षसम्मका बालबालिकालाई अल्वेन्डाजोल (जुका)को औषधि खुवाइनेछ। पोषण शाखा प्रमुख पराजुलीले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि भिटामिन ‘ए’ क्याप्सुल ३० लाख क्याप्सुल र अल्वेन्डाजोल २५ लाख ट्याब्लेट वितरण गरिने बताए। जुकाको औषधि २४ लाख बालबालिकाले खानेछन्।
छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले विसं २०५० बाट भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ। जुकाको औषधि विसं २०५६ बाट खुवाउन थालिएको हो। ‘राष्ट्रिय भिटामिन ‘ए’ कामर्यक्रम सञ्चालनका लागि २५ हजार स्वास्थ्यकर्मी र ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने उनले बताए।



