प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी प्रभावित नागरिकलाई तत्काल उद्धार तथा सुरक्षित स्थानमा व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका छन्।
बाढीबाट प्रभावित भएकालाई सरकारले राहत दिने तथा बाढी–पहिराले घर भत्किएकाहरुको घर निर्माणका लागि आर्थिक सहयोग दिने प्रधानमन्त्री देउवाले बताए। उनले भने, “बाढी प्रभावितको स्वास्थ्योपचारदेखि आवास निर्माणमा सरकारले सहयोग गर्नेछ, विपत्तिका बेला सबैले सहयोग गर्न आवश्यक रहेको छ, तपाइँहरुले प्रभावितलाई चुस्त रुपमा सेवा दिनुहोला।”
आज बाढी प्रभावित क्षेत्र सुदूरपश्चिमको डोटी आइपुगेका प्रधानमन्त्री देउवाले यहाँका बाढी प्रभावित क्षेत्रका व्यक्तिहरुको उद्धार र राहतका लागि निर्देशन दिएका हुन्।
प्रधानमन्त्री देउवाको नेतृत्वमा आएको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आले एवं पूर्वमन्त्रीहरु एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर लगायत छन्।




