काठमाडाैँ । सुनसरीमा मोटरसाइकल अनियन्त्रित भई भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तरगत इटहरी उपमहानगरपालिका १६ जालपा पेट्रोल पम्प नजिकै मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सुनसरी रामधुनी नगरपालिका १ का २२ वर्षीय मुकेश सरदार रहेको प्रहरीले जनाएको छ। पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को ४ प ६८९३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नं १-०२-००३ ह ३०७८ नम्बरको सिटी सफारी समेतमा ठक्कर लागेको थियो ।
दुर्घटनाबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक मुकेशको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । मोटर साइकलमा पछाडि सवार रामधुनीकै २२ वर्षीय नवीन सरदार र १८ वर्षीय अभिषेक सरदार घाइते भएको प्रहरीले जनाएको छ ।




