एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को उपाधि चितवनले हात पारेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको चौथो संस्करणको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै चितवनले उपाधि हात पारेको हाे। यससँगै चितवन पहिलो पटक च्याम्पियन बनेको छ।
चितवनले १५.५ ओभर खेल्दै ६ विकेटको क्षतिमा पोखराले दिएको ११२ रनको लक्ष्य पुरा गरेको हो।
विजेता टोली चितवनका लागि भीम सार्कीले ४५ बल खेल्दै ७ चौका र २ छक्कासहित ६३ जोडेका थिए। यसका साथै इमर्जिङ प्लेअर अफ दि टुर्नामेन्टको उपाधि सार्कीले नै पाएका छन्। उनले यो संस्करणमा २ अर्धशतक प्रहार गरेका थिए।
यस्तै राजेश पुलामीले १४ रन, दिलीप नाथले १८ रन र मोहम्मद शाहजादाले ११ रन जोडेका थिए।
व्यक्तिगत अवार्ड तर्फ डेयर टु ड्रिम अवार्ड चितवन टाइगर्सका कमलसिंह ऐरीले पाएका छन् भने चितवनकै सागर ढकाल म्यान अफ दि सिरिज बनेका छन्।




