कोभिड-१९ बाट बालबालिका र युवाहरूको मानसिक स्वास्थ्यमा ठुलो असर परेको छ : युनिसेफ

न्यूयोर्क । बालबालिका र युवाहरूले आफ्नो मानसिक स्वास्थ्य र भलाइमा कोभिड-१९ को असर धेरै वर्षसम्म महसुस गर्ने युनिसेफले जनाएको छ ।

२१औँ शताब्दीमा बालबालिका, किशोरकिशोरी र हेरचाहकर्ताहरूको मानसिक स्वास्थ्यकाबारेमा युनिसेफले अहिलेसम्म गरेको सबैभन्दा व्यापक विश्लेषणविश्वमा बालबालिकाको अवस्था २०२१; मेरो दिमागमा: बालबालिकाको मानसिक स्वास्थ्यको प्रबर्द्धन, सुरक्षा र हेरचाहअनुसार कोभिड १९ भन्दा पहिलेदेखि नै यो विषयलाई सम्बोधन गरेर खासै कुनै महत्वपूर्ण लगानी नभएको हुनाले बालबालिका र युवाहरूले मानसिक स्वास्थ्यसम्बन्धी अवस्थाको बोझ उठाउँदै आएका छन् ।

युनिसेफको पछिल्लो उपलब्ध अनुमानअनुसार, विश्वव्यापी रूपमा १० देखि १९ वर्ष उमेर समूहका ७ मध्ये १ किशोरकिशोरी मानसिक समस्याका साथबाँचिरहेका छन् । शीर्ष पाँच कारणहरूमध्ये एक रहेको आत्महत्याबाट प्रत्येक वर्ष लगभग ४६,००० किशोरकिशोरीहरूको मृत्यु हुन्छ। मानसिक स्वास्थ्य सम्बन्धी आवश्यकताहरू र मानसिक स्वास्थ्य कोषको बीच ठुलो अन्तर छ । प्रतिवेदनका अनुसार विश्वव्यापी रुपमा सरकारी स्वास्थ्य बजेटको लगभग २ प्रतिशतमात्रै मानसिक स्वास्थ्यको लागि खर्च भनेर छुट्याइएको छ ।

‘बितेका १८ महिना हामी सबै र विशेष गरेर बालबालिकाको लागि धेरै लामो समय भएको छ । राष्ट्रव्यापी बन्दाबन्दी र महामारीका कारण हिँड्डुलमा भएको प्रतिबन्धले गर्दा बालबालिकाले  आफ्नो जीवनका केही महत्वपूर्ण वर्ष परिवार, साथीहरू, कक्षाकोठा र खेलकुदजस्ता बाल्यकालका मुख्य तत्वहरूबाट टाढा रहेर बिताएका छन्,’ युनिसेफका कार्यकारी निर्देशक हेनेरिट्टा फोरले भने । ‘प्रभाव महत्वपूर्ण छ र यो ठूलो समस्याको देखिने सानो भागमात्रैहो । महामारीभन्दा पहिलेदेखि  नै धेरै बालबालिका  मानसिक स्वास्थ्य सम्बन्धी मुद्दाहरूको बोझले दबिएका थिए। यी महत्वपूर्ण आवश्यकताहरूलाई सम्बोधन गर्नको लागि सरकारहरूद्वारा थोरै लगानी भइरहेको छ । मानसिक स्वास्थ्य र भावी जीवन परिणामहरू बीचको सम्बन्धलाई पर्याप्त महत्व दिइएको छैन ।’

कोभिड-१९को समयमा बालबालिकाको मानसिक स्वास्थ्य

वास्तवमै, महामारीले बालबालिकाको मानसिक स्वास्थ्यमा धेरै असर पारेको छ । युनिसेफ र ग्यालपद्वारा २१ देशहरूमा संचालित बालबालिका र वयस्कहरूको एक अन्तर्राष्ट्रिय सर्वेक्षणको प्रारम्भिक निष्कर्ष र द स्टेट अफ द वर्ल्ड्स चिल्ड्रेन २०२१ मा गरिएको पूर्वावलोकन अनुसार, १५-२४ वर्ष उमेर समूहका ५ युवा मध्ये १ को मध्यस्थले प्रायःजसो  निराश महसुस भएको वा जुनसुकै काम गर्नमा पनि कम रुचि भएको कुरा व्यक्त गरेका छन् ।

कोभिड १९ले तेस्रो वर्षमा प्रवेश गरेसँगै बालबालिका र युवाहरूको मानसिक स्वास्थ्य र भलाइमा ठूलो प्रभाव पर्ने क्रम जारी नै छ। युनिसेफको पछिल्लो उपलब्ध तथ्याङ्क अनुसार, विश्वव्यापी रूपमा ७ जनामध्ये कम्तिमा १ जना बालबालिका बन्दाबन्दीबाट प्रत्यक्षरूपमा प्रभावित भएका छन् भने १अर्ब ६० करोड भन्दा बढी बालबालिकाले शिक्षाको अवसर गुमाएका छन्। अस्तव्यस्त भएको दिनचर्या, शिक्षा, मनोरन्जन, साथसाथै पारिवारिक आय र स्वास्थ्यको चिन्ताजस्ता बाधाहरूले गर्दा धेरै युवाहरूले डर, क्रोध र आफ्नो भविष्यप्रति चिन्ता महसूस गरिरहेका छन् । उदाहरणका लागि ‘द स्टेट अफ द वर्ल्ड्स चिल्ड्रेन’मा उद्धृत भएअनुसार, २०२० को सुरुवातमा चीनमा गरिएको एउटा अनलाइन सर्वेक्षणले लगभग एक तिहाई उत्तरदाताहरू डराएको वा चिन्तित भएको रिपोर्ट गरे । नेपालमा सामुदायिक उत्तरदाताहरूका अनुसार युवाहरूको शीर्ष तीन सरोकारहरूमध्ये एक विषय मानसिक स्वास्थ्य हो ।

समाजलाई पर्ने गएको लागत

ध्यान केन्द्रित गर्न नसक्ने तथा ज्यादा चकचके स्वभावजन्य समस्या, चिन्ता, अटिजम, बाइपोलर डिसअर्डर / दूईध्रुवीय बिकार, आचरण सम्बन्धि विकार, डिप्रेसन / उदासिता, खानपानमा विकार, बौद्धिक अपांगता, र स्किजोफ्रिनिया / मनोविदलता सहितका अन्य मानसिक समस्याहरूले बालबालिका र युवाहरूको स्वास्थ्य, शिक्षा, जीवन नतिजा र कमाइ क्षमतालाई हानी पुर्‍याउन सक्छ ।

बालबालिकाको जीवनमा पर्नजाने अकल्पनीय असरसँगै “लन्डन स्कुल अफ इकोनोमिक्स” द्वारा जारी एउटा नयाँ विश्लेषणमा उल्लेख रिपोर्टका अनुसार युवाहरू मानसिक समस्याहरूको कारण अशक्त वा उनीहरूको मृत्यु हुने हुनाले अर्थतन्त्रमा योगदान पुर्‍याउन असक्षम छन् जसको फलस्वरूप प्रतिवर्ष लगभग ३ खर्ब ९० अर्ब डलरघाटा भएको अनुमान गरिएको छ ।

सुरक्षात्मक तत्वहरू

प्रतिवेदनका अनुसार वंशानुगत, जीवनका प्रारम्भिक दिनहरूमा पाएका अनुभव र पर्यावरणीय तत्वहरूको मिश्रण, अभिभावकत्व, विद्यालयको शिक्षा, सम्बन्धहरूको गुणस्तर, हिंसा वा दुर्व्यवहारको जोखिम, भेदभाव, गरिबी, मानवीय संकट र कोभिड -१९ जस्ता सवास्थ्य सम्बन्धि आपत्कालिन समस्याहरूले बालबालिकाको मानसिक स्वास्थ्यमा जीवनभर प्रभाव पार्दछ ।

नेपालमा आत्महत्याको विचारले पीडित भएर मनोवैज्ञानिक हेल्पलाइनहरूमा कल गर्ने मध्ये २० प्रतिशत लैंगिकतामा आधारित हिंसासँग सम्बन्धित छन् भने २५ प्रतिशत आर्थिक अभावसँग ।

रिपोर्टका अनुसार, मायालु हेरचाहकर्ताहरू, विद्यालयको सुरक्षित वातावरण र साथीहरू बीचको सकारात्मक सम्बन्धले मानसिक समस्याको जोखिमलाई कम गर्नमा मद्दत गर्नसके तापनि लान्छना र अप्रयाप्त आर्थिक सहयोगजस्ता बाधाहरूका कारण धेरै बालबालिकाले सकारात्मक मानसिक स्वास्थ्य वा उनीहरूलाई चाहिने सहयोगको पहुँच अनुभव गर्नबाट बन्चित भएका छन् ।

हेरचाहकर्ताहरूको मानसिक स्वास्थ्य पनि बालबालिका र किशोरकिशोरीहरूको महत्वपूर्ण सुरक्षात्मक तत्व हो । आमाबाबु र हेरचाहकर्ताहरूलाई तनाव पहिचान गर्न र सहयोग खोज्न सहयोग गर्नाले उनीहरूको बालबालिकालाई सबैभन्दा धेरै आवश्यक परेको बेला हेरचाह गर्ने क्षमतामा बृद्धि हुनेछ। विश्वका बालबालिकाको अवस्था २०२१ ले सबै बालबालिका, किशोरकिशोरी र हेरचाहकर्ताहरूको मानसिक स्वास्थ्यलाई प्रवर्द्धन गर्न, सहयोगको खाँचोमा परेकाहरूको रक्षा गर्न र सबैभन्दा कमजोरहरूको हेरचाह गर्न सरकारहरू साथै सार्वजनिक र निजी क्षेत्रका साझेदारहरूलाई आह्वान गर्दछ । यसबाहेक निम्न कुराहरूमा पनि ध्यानाकर्षण गर्दछ:

  • स्वास्थ्यमा मात्र नभई सबै क्षेत्रहरूमा रोकथाम, पदोन्नति र हेरचाहको लागि सम्पूर्ण समाजको दृष्टिकोणलाई समर्थन गर्न, सबै र विशेषगरि जोखिममा परेका बालबालिका र आमाबुबाको आधारभूत गुणस्तरीय मानसिक स्वास्थ्य र मनोसामाजिक समर्थन सेवाहरूको उपलब्धता र पहुँच सुनिश्चित गर्ने, लैंगिक रूपमा संवेदनशील बालबालिका र किशोरकिशोरीको मानसिक स्वास्थ्यमा तत्काल लगानी गर्ने ।
  • स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा र बाल संरक्षण क्षेत्रहरू साथै प्रवर्धन गर्ने, हेरचाह गर्ने र अभिभावक र हेरचाहकर्ताको मानसिक स्वास्थ्यलाई समर्थन गर्ने अभिभावकत्व कार्यक्रमहरूमा प्रमाणमा -आधारित हस्तक्षेपहरूलाई एकीकृत गर्न र बढाउनका साथै गुणस्तरीय सेवाहरू  र सकारात्मक सम्बन्धहरूको माध्यमबाट विद्यालयहरूले मानसिक स्वास्थ्यलाई समर्थन गरेको कुरा सुनिश्चित गर्ने ।
  • लान्छनालाई सम्बोधन गरेर, मानसिक स्वास्थ्यबारेको बुझाइलाई प्रवर्धन गरेर साथै बालबालिका र युवाहरूकोअनुभवहरूलाई गम्भीरताकासाथ लिएर मानसिक रोगबारे मौनतालाई तोड्ने ।
  • मानसिक स्वास्थ्य समस्याहरूसँग जुधेका सबैभन्दा कमजोर समूहहरूको आवश्यकताहरूलाई निर्धारण गर्न अध्ययन गर्ने र सरकारको योजना, नीति र कार्यक्रमहरूमा उनीहरूलाई प्राथमिकता दिने ।

‘मानसिक स्वास्थ्य शारीरिक स्वास्थ्यको एक अंग हो – हामीले यसलाई अन्यथाको रूपमा हेरिराख्न सक्दैनौँ,’ फोरले थप भने । ‘धनी र गरीब सबै देशहरूमा धेरै लामो समयसम्म हामीले यस विषयबारे असाध्यै थोरै बुझाइ भएको देख्यौँ र प्रत्येक बालबालिकाको क्षमता वृद्धिको एक महत्वपूर्ण तत्वप्रति असाध्यै थोरै लगानी भएको देखेका छौँ । यो परिवर्तन हुन अति आवश्यक छ ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री