बडादसैँ आजदेखि सुरुः घटस्थापनाकाे शुभ साइत ११ः४६ बजे

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ।

बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ।

आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ। यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ। यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ।

जमरामा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन्। कूल परम्पराअनुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन्। जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गरिन्छ।

घटस्थापनाको साइत ११ः४६ बजे

आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरूपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो। आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ।

आज घटस्थापनाको साइत बिहान ११ः४६ बजे रहेको समितिले जनाएको छ। आज दिनभर चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापनाको साइतअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गर्नुपर्ने समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए। शास्त्रीय वचनअनुसार मध्याह्नकालमा अभिजित मुहूर्तको साइत घटस्थापनाका लागि दिइएको समितिले जनाएको छ।

चित्रा नक्षत्रको मालिक त्वष्टा अर्थात् विश्वकर्मा र वैधृति योगको मालिक अदिति अर्थात् देवताका आमा विशेष पूजासहित शान्ति गरेर आज घटस्थापना गर्नुपर्छ। चित्रा र वैधृति योग परेका बेला त्वष्टा र अदितिसँगै रुद्र, सूर्य, सोम र मृत्युञ्जयको पनि विशेष पूजा गर्ने शास्त्रीय विधि छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

शोभा पाठक अस्पताल भर्ना, तारा बराल धरौटीमा रिहा

काठमाडौं । नेता र व्यवसायीसँग नाम जोडिएकी शोभा पाठक अस्पताल भर्ना भएकी छन् । प्रहरी …

प्रतिकृया दिनुहॊस