प्रदेश नं २ काे अधिवेशन आज, मुख्यमन्त्री राउतले विश्वासको मत लिँदै

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिने भएका छन्। आज विश्वासको मत लिनका लागि प्रदेशसभा अधिवेशन आह्वान गरिएको छ।

असोज १३ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकबाट मुख्यमन्त्री राउतले विश्वासको मत लिनका लागि प्रदेशसभा अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो। सत्तारुढ दल जनता समाजवादी पार्टी विभाजन भएपछि संवैधानिक प्रवधानअनुसार मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन्।

मुख्यमन्त्री राउतले विश्वासको मत लिन एक साताअघि नै प्रदेशसभा सचिवालयलाई परिपत्र गरेका थिए। आजदेखि नै प्रदेशसभाको सातौँ अधिवेशन आह्वान गरिएको छ। संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सत्ता साझेदार दल विभाजन तथा आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रवधान छ। गत भदौ ९ गते जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भई महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को प्रमाणपत्र निर्वाचन आयोगले दिएको थियो।

अहिले प्रदेश नं २ मा जसपा, कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन सरकार छ भने नेकपा (एकीकृत समाजवादी)ले समेत मुख्यमन्त्री राउतलाई नै समर्थन गर्ने जनाएको छ। यस हिसाबले मुख्यमन्त्री राउतसँग प्रदेशसभाका १०४ सदस्यमध्ये दुईतिहाइभन्दा बढीको बहुमत छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

फोहोर गरेको भन्दै महानगरले एमालेलाई गर्‍यो १ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्तारूढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । दरबारमार्गमा आयोजित जागरण सभाका क्रममा सार्वजनिक सडक र फुटपाथमा फोहोर गरेको आरोपमा कारबाही गरिएको हो । महानगरपालिकाले शुक्रबार पठाएको पत्रमा, २०६८ सालको फोहोर मैला व्यवस्थापन ऐन र काठमाडौं महानगरपालिकाको २०८१ सालको आर्थिक ऐनलाई आधार मान्दै, एक लाख रुपैयाँ जरिवाना लगाइएको उल्लेख छ ।

प्रतिकृया दिनुहॊस