काठमाडौं । गृह मन्त्रालयले स्वास्थ्य मापदण्डभित्र रहेर गर्ने कार्यक्रममा बन्देज नहुने बताएको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै संविधान, प्रचलित कानुन र कोभिड-१९ नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य मापदण्ड भित्र रहेर गरिने कुनै पनि क्रियाकलापमा बन्देज नहुने स्पष्ट पारेको हो ।
जिल्ला प्रशासन कार्यालय, काठमाण्डौ र भक्तपुरले जारी गरेका आदेशका विषयमा सार्वजनिक रुपमा व्यक्त अभिव्यक्ति र चासो र चिन्ताप्रति मन्त्रालयको गम्भीर ध्यानआकर्षण भएको जारी विज्ञप्तिमा उल्लेख छ । जिल्ला प्रशासन कार्यालयहरुले कुनै पनि पर्व, भेला वा जुलुस गर्न नपाइने आदेश जारी गरेका थिए ।
गृह मन्त्रालयले विज्ञप्ति निकालेर भनेको छ- ‘नेपालको संविधान, प्रचलित कानुन र कोभिड-१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकलभित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने नेपाल सरकारको कुनै आदेश र उद्देश्य नभएको ब्यहोरा सबैको जानकारीको लागि अनुरोध छ ।’





