कांग्रेस १४ औँ महाधिवेशन: पाल्पाकाे पूर्वखोला गाउँपालिकाको सभापतिमा महिला नेतृत्व

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा पाल्पामा एक पालिकामा महिला नेतृत्व आएसँगै पार्टीभित्र र बाहिर निकै चर्चा चलेको छ। जिल्लाको पूर्वखोला गाउँपालिकाको सभापतिमा विष्णुकुमारी आचार्य निर्वाचित भएसँगै महिलामा उत्साह थपिएको हाे।

यहाँका १० पालिकामध्ये नौ पालिकामा निर्वाचन सम्पन्न भई नयाँ नेतृत्व आएको छ। नौ पालिकामध्ये आठ पालिकाको सभापतिमा पुरुष निर्वाचित छन्। असोज ९ गते भएको पालिका अधिवेशनले सर्वसम्मतरूपमा आचार्यले सभापतिको नेतृत्व गर्ने अवसर पाइन् । सभापतिमा पुरुष उम्मेदवार पनि आकाङ्क्षी नभएका भने होइनन् तर यहाँका नेतृत्व पङ्क्तिले यस पटक महिलालाई सम्मान गर्दै गाउँपालिकामा सभापतिको जिम्मेवारी सुम्पेका छन्।

परिवारको साथ सहयोग र पार्टीका नेता कार्यकर्ताको सहमतिमा पाएको जिम्मेवारीलाई पूरा गर्ने उनको अठोट छ। उनी भन्छिन्, “महिलालाई पार्टीमा चलायमान बनाउने र भोलिका दिनमा वडा तहदेखि माथिल्लो निकायसम्म नेतृत्व गर्नसक्ने गरी महिलालाई सशक्त बनाउनेछु, गाउँगाउँका महिलाको समस्यालाई बुझेर पार्टीमार्फत उनीहरुका हक अधिकारका निम्ति सदैव लड्नेछु।”

यसअघि पेशाले उनी प्रावि तहको स्थायी शिक्षक थिइन्। शिक्षण कार्यबाट अवकास लिई लोकतान्त्रिक पार्टीको सिद्धान्त र नीतिमा रहेर उनमा वडा तहदेखि नै पार्टीमा काम गर्दै आएको अनुभव छ। “शिक्षण पेशाका क्रममा बुद्ध माविमा कालिका प्राविबाट दरबन्दीसहित सरुवा भएर जाँदा छ महिना मलाई मेरो परिवार नेपाली कांग्रेसमा आस्थावान् भएकै कारण हाजिर गर्न दिइएन, हाजिरबिना तीन महिना नियमित विद्यालय गएर पढाएँ, त्यसपछि प्रअले कक्षामा पढाउन नजानू भनेर निर्देशन दिएपछि म घरमै बसेँ, केही समयपछि पुनः सरस्वती मावि जल्पा सरुवा भई शिक्षण गर्न थालेँ”, उनले हिजोको दिन सम्झँदै भनिन्।

शिक्षण पेशाका क्रममा घरपरिवार, आफन्त नेपाली कांग्रेस पार्टीसँग जोडिएकाले धेरै चुनौती सामना गर्नुपर्यो । करिव २३ वर्षसम्म शिक्षण पेशामा अनुभव लिएकी उनी अवकाश प्राप्त भएपछि खुलेर नेपाली कांग्रेसमा राजनीति गर्न थालिन्।

यसअघि पूर्वखोला गाउँपालिका–३ को कार्यवाहक सभापति भएर काम गरेकी उनी हाल ट्रेड युनियन कांग्रेस पूर्वखोलाको उपसभापति छिन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री