जुम्लामा चट्याङ लागेर चालिस भेडा मरे, १५ वटा घाइते

जुम्लाको गोठीचौर गाउँपालिकाको पाटनमा सोमबार राति चट्याङ लागेर भेडाबाख्रा मरेका छन् । चट्याङ लागेर ४० भेडा मरेका छन् भने १५ भेडा घाइते भएको सो गाउँपालिकाका स्थानीयवासी रामप्रकाश विकले बताए।

सो गाउँपालिका–४ स्थित सामुदायिक वनअन्तर्गत चिमारा लेक नजिकै डाब भन्ने ठाउँमा चट्याङ लागेर सोही वडाका नानो भण्डारीका १० भेडा मरेका छन् दुई घाइते भएका छन् । मुनबहादुर भण्डारीका चार वटा मरेका छन्, दुई घाइते छन्। मुणिप्रसाद अधिकारीका १७ वटा मरेको र सात घाइते र देवीप्रसाद अधिकारीको ९ वटा मरेका छन् भने, चार घाइते भएको इलाका प्रहरी कर्यालय गुठीचौरका इञ्चार्ज कमल श्रेष्ठले बताए। चट्याङ लागेर भेडाबाख्रा मरेपछि करिब ६ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

पाटन क्षेत्रमा परेको चट्याङबाट भेडापालक किसानको पुख्र्यौली पेशालाई नै निकै प्रभावित बनाएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्मराज गिरीले बताए। उनले भने, “यो क्षेत्रको अधिकांश स्थानीयको मुख्य आम्दानीको स्रोत भनेकै भेडापालन हो।” भेडापालक किसानलाई राहतका लागि गाउँपालिकामा छलफल गरेर मात्र कुरा अघि बढ्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत गिरीले बताए।

ठूलो मात्रामा क्षति भएपछि भेडापालक किसानले राहतको माग गरेका छन् । जुम्लामा विसं २०७० मा निरन्तर परेको असिनापानी र हावाहुरीले करिब ७०० भेडाबाख्रा मरेका थिए भने विसं २०७७ मा ५०० भेडा मरेको तथ्याङ्क रहेको पशुसेवा कार्यालय जुम्लाले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री