गृहमन्त्री बालकृष्ण खाणले आम नागरिकलाई अनुभूति गर्ने गरी विजयादशमी, दीपावली र छठमा उपत्यकाको सुरक्षा व्यवस्था र बजार व्यवस्थापन गर्न माताहतका निकायलाई निर्देशन दिएका छन्।
चाडपर्व लक्षित सुरक्षा व्यवस्था तथा बजार व्यवस्थापनबारे उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ट्राफिक महाशाखा प्रमुखलाई निर्देशन दिँदै गृहमन्त्री खाणले नागरिकलाई अनुभूत हुने गरि सुरक्षा व्यवस्था र बजार व्यवस्थापन गर्न निर्देशन दिएका हुन्।
“अहिले सामान्य अवस्थामा जस्तै चाडपर्वमा पनि सुरक्षा व्यवस्था तथा बजार व्यवस्थापन सहज हुनुपर्यो। “नागरिकले महँगी, म्याद गुज्रेका खानेकुरा खाने अवस्था आउन भएन”, मन्त्री खाणले भने, “अहिले जस्तो अवस्था छ, त्यस्तै अवस्था रहनुपर्यो र चाडपर्वमा परिवर्तन देखिनुपर्यो। ”
उनले परिवर्तनको परिणाम देखिने गरि काम गर्न र जनतालाई चुस्त सेवा दिन आग्रह गरे। सडकको अवस्था र अन्य नागरिकसँग सरोकार राख्ने विषयमा आफ्नो क्षेत्राधिकारभित्र पर्दैन भनेर चुप लागेर नबसी कसको क्षेत्राधिकारमा पर्ने हो, त्यो निकायलाई घच्घच्याउन पनि निर्देशन दिए। उनले मन्त्रालयले चाडपर्वका बेलामा गर्नुपर्ने कामको विषयमा जानकारी दिनसमेत आग्रह गरे। “ट्राफिक व्यवस्थापन, सडकमा देखिने खाल्डाखुल्डी पुर्न र असहज अवस्थालाई सहजतामा बदल्न आवश्यक छ”, उनले भने।
बैठकमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय र भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा तथा, महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी अशोक सिंह, ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी किरण बज्राचार्य र भक्तपुर प्रहरी प्रमुख एसपी शिवकुमार श्रेष्ठले चाडपर्व लक्षित सुरक्षा योजना र बजार व्यवस्थापनबारे योजना प्रस्तुत गरेका थिए। त्यस्तै महानगरीय ट्राफिक महाशाखा प्रमुख एसएसपी जनकराज भट्टराईले ट्राफिक व्यवस्थापनबारे कार्ययोजना प्रस्तुत गरे।
मन्त्री खाणले ती योजना सुनेपछि योजनालाई व्यवहारमा कार्यान्वयनमा ध्यान दिन आग्रह गरेका थिए। उनले सरकार नागरिकलाई परिवर्तनको अनुभूति दिलाउन लागिरहेको भन्दै त्यसकार्यमा सहयोग गर्न कर्मचारी र प्रहरी अधिकारीलाई आग्रह गरे।
प्रतिकृया दिनुहॊस