काठमाडौं ।नबिल बैंकले धादिङ जिल्लाको गल्छी गाउँपालिकामा वित्तीय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरी गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी गरेको छ।
गल्छी गाउँपालिकामा नबिल बैंकका तर्फबाट बागमती प्रदेश प्रमुख अमित श्रेष्ठ र गाउँपालिकाका तर्फबाट अध्यक्ष कृष्णहरि श्रेष्ठले साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
उक्त साझेदारीमार्फत गाउँपालिकाहरुले स्थानीयस्तरमा सञ्चालन गर्ने विभिन्न उद्यमसम्बन्धी कार्यक्रम तथा तालिम लिएर उद्यम गर्न चाहने उद्यमीलाई गाउँपालिकाको सिफारिसमा बैंकले उद्यम गर्न बैंकको नियमानुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम तथा तालिममा वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गर्ने उद्देश्य रहेको छ।
कार्यक्रममा नबिल बैंकका बागमती प्रदेश प्रमुख अमित श्रेष्ठले यस सम्झौताले गल्छी गाउँपालिकामा रोजगारी र उद्यमशीलता विकास गरी सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताए।
गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठले नबिल बैंकको दिगो बैंकिङले निम्न वर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने आशा व्यक्त गरे।
उनले वास्तविक किसान तथा उद्यमी पहिचान गरि बैंकसम्म पुर्याई गाउँपालिकाको विकासमा सहयोग गर्न सबैलाई आग्रह पनि गरे।
गल्छी शाखालाई नबिल दिगो बैंकिङको पाइलट शाखा बनाएकोमा धन्यवाद ज्ञापन गर्दै अध्यक्ष श्रेष्ठले नबिल बैंकसँग गाउँपालिकाको विकास र रोजगारी सिर्जनामा सँगै हातेमालो गर्न पाउँदा आफूलाई अत्यन्त खुसी लागेको बताए।
उक्त कार्यक्रममा दिगो बैंकिङ परामर्शदाता राजु नेपाल, नबिल बैंकको बागमती प्रदेशअन्तर्गत स्वयम्भु क्लस्टर प्रमुख प्रज्ज्वलकुमार सुवेदी, नबिल दिगो बैंकिङका प्रबन्धक लीलाप्रसाद ओझा, गल्छी शाखा प्रबन्धक, गाउँपालिका कर्मचारी, किसान, युवा तथा महिला उद्यमीका साथै स्थानीयको उपस्थिति थियो।
प्रतिकृया दिनुहॊस