सुनसरीमा भारतीय जीप दुर्घटना : ६ को मृत्यु, चार घाइते

सुनसरी । पूर्व—पश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–४ कोशी कटानमा गएराति भारतीय स्कार्पियो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बी आर ०६ पी बी ६४१८ नम्बरको स्कारपिओ जिप दुर्घटना हुँदा अन्य ४ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा भारतको विहार राज्यको सुपौल जिल्लास्थित लक्ष्मीणीया बस्ने ४० वर्षीय संजीव कुमार र सोही ठाउका गोनु कुमार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मृतक छ जनामध्ये दुईजनाको मात्र नाम खुलेको र बाँकी चारजनाको नाम खुल्न बाँकी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए ।

स्कारपिओ जिप अनियन्त्रित भएर दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा र तीनजनाको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ ।

घटनास्थलमा मृत्यु भएका तर नाम नखुलेका तीनजनाको शव जिल्ला अस्पताल, इनरुवामा राखिएको छ भने उपचारका क्रममा मृत्यु भएकाको शव विराटनगरस्थित अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री