सरकारले राजनीतिक नियुक्तिबाट गरिएका सबै राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ।
मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक नियुक्तिबाट गरिएका सबै राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरिएको कानून, न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए। मन्त्रिपरिषद्ले कोभिड १९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृत प्रदान गर्ने, औषधि ऐन २०३५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृती प्रदान गर्ने र कोभिड १९ व्यवस्थापन आदेश २०७८ स्वीकृत गर्ने र संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा भाग लिन जाने प्रतिनिधि मण्डलको गठन गर्ने निर्णय गरेको उनले जानकारी दिए।
मन्त्रिपरिषद् बैठकले कर्णाली करिडोर अन्तर्गत सल्लीसल्ला–सिमिकोट खण्डको डुल्लीकुनादेखि लालीबगर सडकखण्डको ७ कि.मि. र लैफुबद्री गाउँदेखि हुक्का खोलासम्म १३.५ किमी सडकखण्डको ट्रयाक निर्माण कार्य नेपाली सेनाबाट गराउन स्वीकृत प्रदान गर्ने निर्णय गरेको पनि सरकारका प्रवक्ता कार्कीले बताए।




