के हो स्क्रब टाइफस ? यो रोगबाट कसरी बच्ने ?

काठमाडाैँ । पछिल्लो समय गोरखाको आरुघाट गाउँपालिकामा ‘स्क्रब टाइफस’ रोगको जोखिम बढ्दै गएको छ । यहाँका स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीमा स्क्रब टाइफस देखिएको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन्। गाउँपालिकामा स्क्रब टाइफसका २५ जना सङ्क्रमित भेटिएका छन् ।

गाउँपालिकाभित्रका विभिन्न स्थानमा स्क्रब टाइफसका बिरामी भेटिएको गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख विजय श्रेष्ठले जानकारी दिए । विगतका वर्षमा फाट्टफुट्ट मात्र देखिने यो रोगका बिरामी यस वर्ष धेरै देखिएका छन् । ‘वर्षायामको सुरुबाटै बिरामीको संख्या बढेको छ, साउनदेखि हालसम्म स्क्रब टाइफसका २५ जनामा सङ्क्रमित पुष्टि भइसकेको छ,’ श्रेष्ठले भने ।

लामो समयसम्म ज्वारो आएर उपचारका गराउँदा पनि निको नभएपछि गाउँपालिकाको स्वास्थ्य शाखाले स्क्रब टाइफस आशङ्कामा परीक्षण गराउँदा उनीहरूमा सङ्क्रमण पुष्टी भएको थियो । स्वास्थ्य चौकीमा नै आएर उपचार गर्दासमेत बिरामीमा ज्वरो धेरै लामो समयमा निको नभएपछि स्वास्थ्य शाखाले स्क्रब टाइफसको किटको प्रयोग गरी परीक्षण गर्दा बिरामीमा संक्रमण देखिएको हो ।

सङ्क्रमण पुष्टी भएका सबैको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले जानकारी दिए । पछिल्लो केही साता आरुघाट प्राथामिक स्वास्थ्य केन्द्रमा ज्वरोका बिरामी बढ्न थालेको केन्द्रले जनाएको छ । ज्वरो आउने र निको नहुने समस्या बढी देखिएका बिरामीमा स्क्रब टाइफसको किट प्रयोग गरी परीक्षण भइरहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

वर्षातमा पानीका मुहान सफा नहुँदा पानीजन्य रोग देखापर्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । यो समयमा किर्नालगायतका किराले टोक्ने भएकाले स्क्रब टाइफसका बिरामी देखिने गरेका छन् । ‘पशु चौपायासँग घुलमिल हुँदा किर्नाले टोक्ने र त्यसपछि स्क्रब टाइफसको समस्या देखिने गरेको छ,’ श्रेष्ठले भने, ‘स्क्रब टाइफसले ज्यानै लिन सक्ने भएकाले परीक्षणको दायरा बढाएर उपचार गरिरहेको छौं ।’

कोभिड-१९ सँग मिल्दाजुल्दा लक्षण
नेपाल सरकारले केही दिनअघि कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएको ‘स्क्रब टाइफस’ रोग देखिन थालेको जानकारी गराएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै कोभिड–१९ का लक्षणसँग मिल्दोजुल्दो रोग स्क्रब टाइफस भएको र त्यसप्रति सचेत रहन समेत अनुरोध गरेको छ ।

कोभिड–१९ जस्तै स्क्रब टाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी, वान्ता, पेट दुखाइ र पखालाले सताउने, सास फेर्न समस्या हुने, धेरै टाउको दुख्ने, जोर्नी तथा मांसपेशी दुख्ने, बिमिरा देखिने, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ ।

स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले सङ्क्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्ने रोग हो । स्क्रब टाइफसले मस्तिष्क, कलेजो, फोक्सो लगायतमा सङ्क्रमण र कहिलेकाहीं बहुअङ्ग विकार (मल्टी अर्गन डिल्फसन)को अवस्था पनि सिर्जना हुनसक्ने स्वास्थ्यकर्मी बताउँछन् ।

के हो ‘स्क्रब टाइफस’ ?
स्क्रब टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने रोग हो । समयमा नै रोगको पहिचान गरी औषधि सेवन गरे यो रोग निको हुन्छ । तर, समयमा नै यसको उपचार नगरे यसले गम्भीर रुप लिनसक्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

किर्नाको टोकाइबाट बच्न खेत, झाडी वा वन जङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउनु पर्छ । शरीरको खुला भागमा कीटनाशक मलहमको प्रयोग गर्ने, घर वरिपरिका खेतबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्नुपर्नेमा विज्ञले जोड दिएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री