काठमाडाैँ । बेनी-दरबाङ सडक निर्माणको मुख्य ठेकेदार पाँच महिनापछि काममा फर्किएको छ । जिल्लाको रणनीतिक महत्वको सो सडक खण्डलाई सहायक ठेकेदारले अधकल्चो छाडेर अलपत्र बनाएको थियो । मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक स्तरोन्नतिलाई पूर्णता दिन मुख्य ठेकेदारले बल्ल काम सम्हालेका हो ।
समानान्तर-लामा जेभीले ठेक्का लिएको यो सडक आयोजनाको सहायक ठेकेदार तथा प्रतिनिधि दयाराम थापा गत चैतदेखि कार्यक्षेत्र छाडेर भागेपछि अलपत्र बनेको थियो । मुख्य ठेकेदार समानान्तरण निर्माण कम्पनीका इञ्जिनीयर महेन्द्र शाहले सडक निर्माणलाई पूर्णता दिने गरी काम शुरुवात गरेको जानकारी दिए ।
‘यही भदौ पहिलो हप्तादेखिनै ४० मजदूर, छ स्काभेटर, चार टिपर, एक ट्याक्टर र एक ब्याकुहोलोडरले काम गरिरहेका छन्’, उनले भने, ‘आगामी वैशाख महिनाभित्र कालोपत्रे गर्ने लक्ष्यसहित उपकरण र मजदूरको संख्या बढाएर फरक-फरक ठाउँमा परिचालन गर्दैछौं ।’
१२ किलोमिटर ५०० मिटर सडक ११ मिटर फराकिलो बनाएर सात मिटर चौडाइका दरले कालोपत्रे गर्ने जनाइएको छ । विसं २०७४ असोज ४ गते ४५ करोडमा ठेक्का सम्झौता भएको यो सडक २०७६ माघ ४ गते निर्माण सक्ने लक्ष्य थियो । हालसम्म करिब ६० प्रतिशत मात्रै भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहॊस