काठमाडौं । पूर्व विजेता स्पेनलाई पेनाल्टी शुटआउटमा हराउँदै आयोजक रसिया इतिहासमै पहिलो पटक विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । विश्वकप २०१८ अन्तिम १६ को तेस्रो क्वाटरफाइनलमा रसियाले स्पेनलाई पेनाल्टीमा ४–३ ले हराएको हो । नियमित र अतिरिक्त समयमा १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा पुगेको थियो ।
मार्को एसेन्सियोको फ्रिकिकमा रसियाका सेर्जे इग्नासेभिचले आत्मघाती गोल गरेपछि खेलमा स्पेनले अग्रता लिएको थियो । तर खेलको ४० औं मिनेटमा जेरार्ड पिकेको ह्यान्डबलमा रसियाले पेनाल्टी पाएको भएको थियो । सो पेनाल्टीमा रसियाका स्ट्राइकर आर्तेम जुबाले गोल गरी बराबरीमा ल्याए ।
दोस्रो हाफमा भने दुवै टोली गोल गर्न असफल भएपछि खेल यस विश्वकपमा पहिलो पटक अतिरिक्त समयतर्फ लागेको हो । अतिरिक्त ३० मिनेटमा कुनै गोल हुन नसकेपछी खेल पेनाल्टी सुट आउटतर्फ गएको थियो ।
पेनाल्टीमा स्पेनका लागि आन्द्रेस इनिएष्टा, सर्जियो रामोस र पिकेले गोल गरेका थिए भने ररसियाका लागि फ्योदोर स्मोलोभ, सेर्जेई इग्सानेभिच, अलेक्जान्दर गोलोभिन र डेनिस चेरिसेभले गोल गरेका थिए । पेनाल्टीमा स्पेनका कोके र इयागो आसपासको प्रहार रुसी गोलरक्षक इगर अकिनफिभले रोकेका थिए ।
स्पेन समूह ‘बी’ को विजेता र रसिया समूह ‘ए’को उपविजेताका रुपमा अन्तिम १६ प्रवेश गरेका हुन् । यस अघि फ्रान्स र उरुग्वे क्वाटरफाइनलमा छनोट भइसके भने पोर्चुगल र अर्जेन्टिना बाहिरिएका छन् ।
प्रतिकृया दिनुहॊस