काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ४७औँ दीक्षान्त समारोहमा भाग लिन आवेदन खुल्ला गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले एक सूचना जारी गर्दै आगामी आश्विन २० गतेभित्र अनलाइन आवेदन दिइसक्न भनेको छ ।
२०७७ असार १ गते (१५ जुन २०२०) देखि २०७८ जेठ ३१ गते (१४ जुन २०२१) सम्म एक वर्षको अवधिमा सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एम. फिल तह उत्तिर्ण गरी परीक्षा नियन्त्रण कार्यालयबाट ट्रान्सिक्रिप्ट लिएका विद्यार्थीहरु दीक्षान्त समारोहमा सहभागी हुन पाउनेछन् । साथै सोहि अवधिमा विद्यावारिधि (पिएच.डी.) तह पूरा गरेका विद्यार्थीहरुले ४७औँ दीक्षान्त समारोहमा सहभागी हुन पाउने कार्यालयले जनाएको छ ।
शुल्क र धरौटी एकसाथ बुझाउनु पर्ने
स्नातक तहको लागि दीक्षान्त तथा प्रमाणपत्र शुल्क २ हजार २ सय र धरौटी एक हजार पाँच सय गरी कुल ३ हजार सात सय, स्नातकोत्तर तथा एम.फिल तहको लागि शुल्क २ हजार ७ सय र धरौटी गरी ४ हजार २ सय तथा पि.एच.डी तहको लागि शुल्क ३ हजार २ सय र धरौटी गरी ४ हजार ७ सय तोकिएको छ ।
यस पटक दीक्षान्त समारोहमा एक जना मात्र अभिभावक सहभागी गराउन सक्ने र सोको लागि थप ३ सय शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ । सबै तहलाई धरौटी एक हजार पाँच सय लिने र सो धरौटी रकमबाट ३ सय गाउन स्कार्फ आदिको मर्मत शुल्क भनी कट्टा गरिने सूचनामा जनाइएको छ । दीक्षान्त समारोह भएको एक वर्षभित्र प्रमाणपत्र लिइसक्नुपर्ने, अन्यथा थप जरिवाना लाग्ने समेत सूचनामा जनाइएको छ ।
यस अघि नै त्रिविको वार्षिकोत्सवको अवसरमा दीक्षान्त समारोहमा भाग लिन पाउने विद्यार्थीहरुको विवरण सहितको ५९औँ ग्रेसलिष्ट पारित भइसकेको छ जसमा २९ हजार ७ सय २९ विद्यार्थी दीक्षान्त समारोहमा भाग लिन पाउने निर्णय भएको छ ।




