प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले आगामी निर्वाचनपछि आफ्नो पार्टी फेरि सरकारमा फर्कने दावी गरेका छन् । तत्कालका लागि सर्वोच्चको परमादेशबाट आफूहरु सरकारबाट बाहिरिनु परेको उल्लेख गर्दै प्रवक्ता ज्ञवालीले जनादेशको माध्यमबाट फेरि आफ्नो पार्टी सरकारमा फर्कने बताएका हुन्।
नेकपा (एमाले) ललितपुर जिल्ला कमिटीले आज लगनखेलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले स्थानीय तहको निर्वाचन, प्रदेश तहको निर्वाचन र संघीय तहको निर्वाचनको तयारीमा जुट्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गरेका छन्।
प्रवक्ता ज्ञवालीले भूमि सम्बन्धि आयोग विघटन गरेको, दल फुटाउने जस्ता लोकतन्त्र विरोधी गतिविधि गरेको, मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेको भन्दै सरकारको चर्को आलोचना पनि गरे। उनले लिपुलेक नेपाली भूमिलाई समस्याको रुपमा चित्रण गरेर न्यूनतम साझा कार्यक्रम ल्याएको भन्दै सत्तारुढ दलहरुप्रति पनि आक्रोश व्यक्त गरेका छन्।




