कांग्रेसको १४औँ महाधिवेशन: शुक्रबार ५६ जिल्लामा वडा अधिवेशन हुँदै

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि गाउँ, नगर वडा अधिवेशन प्रारम्भ हुँदैछ। हालसम्म क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा भदौ १८ गतेदेखि वडा अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

नामावली प्रकाशित भएका सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन अधिकृतलाई समेत खटाइएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए। ती सबै जिल्लामा निर्वाचनका लागि आवश्यक सामग्रीसमेत पठाइसकिएको छ।

उनले भने “क्रियाशील सदस्यता सूची भएका वडामा सम्भव भएसम्म सबैमा भोलि नै अधिवेशन हुन्छ, केही वडामा नाम छुटेका र मिलाउनुपर्ने भएको अवस्था समितिको रोहवर एक, दुई दिन पछाडि सार्न सकिन्छ। शुक्रबार कति वडामा अधिवेशन सम्पन्न हुन्छ भन्नेमा चाहिँ अहिले नै यकिन गर्न सकिँदैन।”

करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ, नगर वडा अधिवेशनका मतदाता हुन्। क्रियाशील सदस्यले आफ्नाे वडाको वडासमिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्ने कांग्रेस विधानमा उल्लेख छ। वडा अधिवेशनले आफूमध्येबाट सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई गरी सात पदाधिकारी निर्वाचित गर्ने व्यवस्था छ। यसबाहेक मतदाता सङ्ख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन्।

मुलुकभरका सबै छ हजार ७४३ वडामा अधिवेशन सम्पन्न हुँदा ४७ हजार २०१ पदाधिकारी र सदस्य एक लाख २१ हजार ६८१ निर्वाचित हुने संयोजक यादवले जानकारी दिए। यसबाहेक मनोनित हुनेको सङ्ख्या थप रहेको छ। त्यस्तै देशभरका वडाबाट एक लाख १४ हजार ५७५ क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन्।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बाँकी २१ जिल्लाको क्रियाशील सदस्यता नामावली क्रमशः प्रकाशित हुँदै जाने र भदौ २७ गते निर्धारित गाउँ, नगरपालिका अधिवेशनसम्म सबै वडाको अधिवेशन सम्पन्न हुने जानकारी दिए। कांग्रेसको सूचना सञ्चार तथा प्रचार विभागले वडा अधिवेशन आवश्यक प्रक्रिया तथा अन्य सूचनाबारेमा सुसूचित गर्न दृश्य सामग्री प्रसारण गरेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

काठमाडौंका तीन ठाउँमा प्रदर्शन : पाँच हजार प्रहरी र पाँच सय ट्राफिक सडकमा

काठमाडौं । संघीय राजधानी काठमाडौंमा आज विभिन्न तीन ठाउँमा विभिन्न समूहले प्रदर्शन गर्दैछ । माइतीघरमा …

प्रतिकृया दिनुहॊस