घर डुब्दा पनि जनप्रतिनिधिले वास्ता नगरेको भन्दै नगरपालिका कार्यालयमा तालाबन्दी

काठमाडाैँ । स्थानीयवासीले नवलपुरकाे गैंडाकोट नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिदिएका छन् । बुधबार रातिदेखि परेको बर्षातले आफ्ना घर डुबानमा पर्दा पनि जनप्रतिनिधिले बेवास्ता गरेको जनाउँदै उनीहरुले आइतबार तालाबन्दी गरिदिएका हुन् ।

अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गैंडाकोट–४ मा २०० भन्दा बढी घर डुबानमा परेको थियो । नगरपालिकाको प्रशासनिक भवनमा तालाबन्दी गरेर स्थानीयवासीले स्थानीय सरकारले जनतालाई डुबानबाट मुक्ति दिन नसकेको जनाउँदै पानीको निकास दिन आफूहरुले नै काम गर्ने बताएका छन् ।

गैंडाकोट–४ का तीर्थ पौडेलले निरन्तर परेको पानीका कारण घर डुबानमा परेपछि घरमा खान, बस्न, सुत्न समस्या हुँदा समेत स्थानीय सरकारले चासो नदिएको गुनासो गरे । अव्यवस्थितरुपमा बस्ती बसाइएको र पानीको निकास नगरिँदा आफ्नो घर तथा पसल डुबानमा परेको उनले बताए ।

पूर्वपश्चिम राजमार्गसँगै जोडिएको राजमार्गको उत्तरतर्फ पर्ने गैंडाकोट–४ मा घर तथा पसल डुबानमा परेका हुन् । उनका अनुसार डुबानका कारण स्थानीयवासीका लाखौँ रुपैयाँ बराबर नोक्सान भएको छ । आफूहरुलाई बर्खे पानीको निकास चाहिएको रे जनप्रतिनिधिले निकासमा वास्ता नगरेपछि बाध्य भएर तालाबन्दी गरिएको उनले बताए ।

पानी निकासका लागि नगरपालिकाले वडा कार्यालयलाई देखाउने वडा कार्यालयले नसक्ने भनेपछि स्थानीय रुष्ट भएका स्थानीयवासी अमिन श्रेष्ठले जानकारी दिए । उनका अनुसार अघिकांश एक तले घर डुबानमा परेपछि खाना बस्नका साथै शौचालय जान पनि नसकिने अवस्था रहेको छ । यस क्षेत्रमा बर्खाको बेलामा प्रत्येक वर्ष एउटै समस्या दोहोरिने गरेको भए पनि यसको दीर्घकालीन समाधान भने हुन नसकेको उनको गुनासो छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री