काठमाडौं । एनएमबि बैंकले दोस्रो कार्यकालका लागी ह्यान्डलिङ बैंकको विशिष्टकृत सेवा प्रदान गर्नका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र/केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । बैंकले जनवरी २०१८ देखि केन्द्रीय नवीकरणीय ऊर्जा कोषका लागि ह्यान्डलिङ बैंकको भूमिकामा कार्य गर्दै आइरहेको छ ।
केन्द्रले एनएमबि बैंकलाई सार्वजनिक खरीद ऐन एवम् सार्वजनिक खरिद र नियमावलीले निर्धारित योग्यता र मापदण्ड अनुसार एक पारदर्शी एवम् प्रतिस्पर्धी बोलकबोल प्रक्रियाको माध्यमबाट ह्यान्डलिङ बैंक चयन गरेको हो । केन्द्रले “क” वर्गको इजाजतप्राप्त बैंक तथा वित्तिय संस्थाहरूलाई बोलकबोल प्रतिस्पर्धाका लागि आह्वान गरेको थियो ।
एनएमबिले दीगो बैंकिङ अन्तर्गत रही देशमा वास्तविक अर्थतन्त्रको प्रवद्र्धनको लागी साना तथा मझौला, कृषि, पूर्वाधार र ऊर्जा क्षेत्रलाई आफ्नो लगानीको प्राथमिकतामा राखि कार्य गर्दै आएको छ । बैंकले स्वच्छ ऊर्जाको प्रवर्द्धन र नेपालको ऊर्जा पूर्वाधार र आपूर्ति प्रणालीलाई अझ दीगो तरीकाले रूपान्तरण गर्ने, स्वच्छ र नवीकरणीय ऊर्जाका स्रोतहरूको उपयोग गर्ने र भारतबाट बिजुली र जीवाशेष इन्धन आयातमा रहेको ठूलो परनिर्भरता घटाउने सरकारको पहललाई समर्थन गरिरहेको छ ।
एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले भने “एनएमबिले दोस्रो कार्यकालमा समेत नवीकरणीय ऊर्जा क्षेत्रमा अनुदान, कर्जा लगायत भायाविलिटि ग्याप फन्डिङ्गमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र अन्तर्गत रहेको केन्द्रीय नवीकरणीय कोषलाई स्तरीय ह्याण्डलिङ्ग बैंक सेवाहरू प्रदान गर्नेछ । यस सम्झौताले समग्र नवीकरणीय ऊर्जा क्षेत्रलाई मुल प्रवाहमा ल्याई ऊर्जा र वित्तीय संसाधनहरुमा पहुँच नपुगेको जनसंख्यामा नवीकरणीय ऊर्जाको प्रवर्द्धनका लागि मद्दत गर्ने विश्वास राखेका छौँ । साथै यो सम्झौता बैंकको हरित कर्जा पोर्टफोलियोको वृद्धिमा कोषेढुङ्गा सावित हुुनेछ ।”




