काठमाडौं । लोकप्रिय अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले आज सोमबार आफ्नो जन्मदिन मनाउँदै छिन् । अभिनयमा अब्बल यी अभिनेत्रीलाई अहिले सामाजिक सञ्जालमार्फत जन्मदिनको शुभकामना दिने क्रम जारी छ ।
अधिकांश कलाकारहरुले दीपाश्रीलाई विभिन्न सामाजिक सञ्जालमार्फत शुभकामना दिइरहेका छन् । ती शुभकामनाहरुले दीपाश्रीका अभिन्न मित्र दीपकराज गिरीको शुभकामना अझ विशेष छ । सोमबार बिहान फेसबुकमा दीपाश्रीसंगको तस्बिर शेयर गर्दै दीपकराजले उनका लागि सुन्दर शब्दहरु खर्चेका छन् ।
- दीपकराजको स्टाटस जस्ताको तस्तै :-
३० वर्षअघिको कुरा हो ।
म हरेक दिन रेडियो नेपाल जान्थें, नाटक खेल्न ।
खुट्टामा चप्पल हुन्थ्यो, शरिरमा झुत्रे लुगा, तर आँखामा मीठो सपना थियो ।
मिहेनत धेरै गरेँ, संघर्ष धेरै भयो, तर सफलता अझै टाढा थियो ।
हरेक दिन संघर्षसंगै ईश्वरसंग प्राथना गरिरहन्थेँ ।
न मेहनत काम लागिरहेको थियो, न प्रार्थना ।
त्यहि समय रेडियो नेपालमा एकदिन उनीसंग मेरो भेट भयो ।
त्यो भेट बिस्तारै सहकार्यमा बदलियो ।
‘राम बिलास धनियाँ’ ५ वर्ष , ‘तीतो सत्य’ १२ वर्ष, विभिन्न चलचित्रहरू १० वर्ष गर्दै आज म यहाँ आइपुगेको छु ।
मैले ईश्वरसंग धेरै गुनासो गरेको थिएँ, सफलता मागेको थिएँ, तर ईश्वरले आशीर्वादको रूपमा उनलाई मेरो साथी बनाएर पठाएको पत्तै भएन ।
उनी एउटा यस्तो साथी, जो अरूको खुशीका लागि आफ्नो खुशी त्यागिदिन्छ, जो अरूको सपना पूरा गर्न आफ्ना सपनाहरूलाई पिञ्जडामा थुन्न सक्छ ।
अरूकै लागि हाँस्न सक्ने,अरूकै लागि बाँच्न सक्ने, कसैको आँशु देख्नै नसक्ने, मुख अलि छुच्चो तर मन सारै कमलो ।
जसले जे भनोस्, उनी संसारकै सबैभन्दा जाती छिन् ।
मेरो एउटा साथी छिन्, जो सबैभन्दा माथि छिन् ।
तिमीलाई जन्मदिनको लाखौं, करोडौं, अरबौं, खरबौं शुभकामना
प्रिय साथी दीपा ।




