पछिल्लो सरकारका सहयोगीलाई घरघर पुगेर खोज्दै तालिबान

काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घको एउटा दस्तावेजमा तालिबानले नेटो फौज र पूर्ववर्ती अफगान सरकारका लागि काम गरेका मानिसहरूको खोजी कार्यलाई तीव्र बनाएको चेतावनी दिइएको छ । उक्त दस्तावेजमा तालिबानले घरघरै गएर त्यस्ता व्यक्तिहरूको खोजतलास गरेको र उनीहरूका परिवारका सदस्यहरूलाई धम्क्याएको उल्लेख छ ।

उक्त कट्टरपन्थी इस्लामवादी समूहले शक्ति हातमा लिएपछि अफगानहरूलाई कुनै पनि बदला नलिने भन्दै आश्वस्त पार्ने कोसिस गरेको थियो । तर अहिले पनि सन् १९९० ताकाको तालिबानमा सामान्य मात्र परिवर्तन आएको जस्तो देखिएकाले त्रास पैदा भएको छ । तालिबानले विदेशी फौज र पूर्ववर्ती सरकारका सहयोगीहरूलाई तारो बनाएको भन्ने चेतावनी राष्ट्रसङ्घका लागि गोप्य सूचना सङ्कलन गर्ने आरएचआईपीटीओ (रिप्टो) नर्वेजियन सेन्टर फर ग्लोबल एनालाइसिसको एउटा अति गोप्य दस्तावेजमा दिइएको हो ।

‘तालिबानद्वारा तारो बनाइएका व्यक्तिहरू अहिले उच्च सङ्ख्यामा रहेका छन् र तिनलाई धम्की दिइएको कुरा स्पष्ट छ,’ उक्त प्रतिवेदन बनाउने समूहको नेतृत्व गर्ने क्रिश्चियन नेलेमेनले भने । उनले तालिबानको सूचीमा रहेकाहरू एकदमै धेरै खतरामा रहेको र अफगानिस्तानमा आमहत्या हुनसक्ने चेतावनी पनि दिएका छन् ।

तालिबानले गत आइतवार काबुल कब्जा गरेको थियो। उसले विदेशी सेनाले देश छाडेपछि अफगानिस्तानभरि नियन्त्रण कायम गर्न थालेको थियो । उक्त विजयले उनीहरूलाई २० वर्षपछि पुन: अफगान शक्तिको केन्द्रमा ल्याइदिएको छ । २० वर्षअघि अमेरिकी नेतृत्वको फौजले उक्त समूहलाई सत्ताच्यूत गराइदिएको थियो । पहिले शक्तिमा रहँदा तालिबानले सार्वजनिक स्थलमा मृत्युदण्ड दिने र महिलाहरूलाई पढ्न तथा काम गर्न नदिनेजस्ता गतिविधि गरेको थियो ।

तर यसपटक काबुलमा नियन्त्रणपछिको पहिलो पत्रकार सम्मेलनमा तालिबानका प्रवक्ताले इस्लामिक कानुन अन्तर्गत नै महिलाको अधिकारलाई सम्मान गर्ने बताएका थिए । तालिबानले आन्तरिक र बाह्य कुनै पनि शत्रु नचाहेको बताएको छ । त्यस्तै उसले विदेशी शक्ति र पूर्ववर्ती सरकारमा रहेर काम गरेका सबैलाई आममाफी दिने बताइसकेको छ । तर अन्तर्राष्ट्रिय शक्ति र कैयौँ अफगानहरू अहिले पनि तालिबानमाथि शङ्का गरिरहेका छन् । -बीबीसी

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री