अष्टलक्ष्मी शाक्य बनिन् पहिलो महिला मुख्यमन्त्री

काठमाडाैँ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य देशकै पहिलो महिला तथा प्रदेशको दोस्रो मुख्यमन्त्री बन्‍न सफल भएका छन् ।

उनलाई नेकपा (एमाले) संसदीय दलको नेता बनाएपछि निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेलले पदबाट राजीनामा दिएसँगै दलका तर्फबाट एकल बहुमतको सरकार गठनको दाबीअनुसार उनी मुख्यमन्त्री बन्‍न सफल भएका हुन् ।

नेपाली राजनीतिमा एक त्यागी नेतृका रुपमा स्थापित शाक्य यसअघि नेपाल सरकारको उद्योगमन्त्रीका साथै महिला बालबालिका तथा समाज कल्याणमन्त्रीसमेत भइसकेका छन् ।

दुई मन्त्रीको शपथ
प्रदेशका नवनियुक्त दुई मन्त्रीले बुधबार राति पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले आन्तरिक मामिला तथा कानूनमन्त्रीमा केशवराज पाण्डे र सामाजिक विकासमन्त्रीमा कृष्ण खनाललाई शपथग्रहण गराएका हुन् ।

खोप पहिलो प्राथमिकता : प्रदेश सरकार
शाक्य मुख्यमन्त्री भएपछि प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्को बैठक बुधबार अबेर राति सम्पन्‍न भएको छ । बैठकले कोभिड खोप कार्यक्रमलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्ने, अनुगमन तथा नियमन गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डेले जानकारी दिए । बैठकले पाण्डेलाई सरकारको प्रवक्ताको जिम्मेवारीसमेत दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप