काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनको नयाँ मिति तय गर्ने सम्बन्धमा बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको क्रियाशील सदस्यता सम्बन्धमा छलफल प्रारम्भ भएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सभापतिकै निजी निवास बूढानीलकण्ठमा बिहीबार बसेको बैठकमा क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले समितिको प्रतिवेदनको व्याख्यासहित प्रस्तुत गरेका थिए ।
बैठकमा समितिका अन्य सदस्य आनन्दप्रसाद ढुङ्गाना, जीवन परियार, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरीले आफ्नो धारणा व्यक्त गरेको केन्द्रीय सदस्य परियारले जानकारी दिए । समितिले यही साउन १२ गते पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा केही विवाद बाँकी सहितको क्रियाशील सदस्यतासम्बन्धी प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनअनुसार १४औँ महाधिवेशनका लागि पार्टीको क्रियाशील सदस्यता सङ्ख्या आठ लाख ५२ हजार ७११ पुगेको छ ।
सभापति उमेदवार मनोनयन दर्ताका लागि ३० हजार शुल्क
आगामी महाधिवेशनमा सभापतिका उमेदवारले उमेदवारी शुल्क ३० हजार प्रस्ताव गरेको छ । केन्द्रीय समितिको बैठकमा यस्तो प्रस्ताव गरिएको हो ।
उपसभापति र महामन्त्रीले २५ हजार, सहमहामन्त्रीले २० हजार, केन्द्रीय सदस्यले १० हजार मनोनयन शुल्क प्रस्ताव गरिएको छ । तर, आफ्ना धारणा राख्ने केन्द्रीय सदस्यहरुले यो शुल्क महंगो भएको बताएका छन् । कार्यसमितिको बैठक आज बिहान ११ बजे सभापति देउवाको निजी निवास बूढानीलकण्ठमा पुनःबस्नेछ ।




