काठमाडौँ । अहिले देशभर बदली रहि प्रदेश २, बागमती र गण्डकी प्रदेशमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेकोले वर्षा भइरहेको हो ।
महाशाखाका अनुसार आज दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । यस क्रममा प्रदेश–१, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन / चट्याङसहित भारी वर्षाको पनि सम्भावना छ ।
यस्तै राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । यस क्रममा प्रदेश-१, प्रदेश-२, बागमतीका थोरै र गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन / चट्याङसहित भारी वर्षाको सम्भावना पनि छ ।
भारी वर्षाको सम्भावना भएका क्षेत्रका कमजोर पहाडमा पहिराे तथा भू-क्षय र नदी तटीय क्षेत्रमा बाढी तथा कटानको जोखिम हुने भएकाले सतर्क हुन विभागले आग्रह गरेको छ । बुधबारबाट मनसुन थप सक्रिय भएको छ ।




