कहिले आउँछ काँग्रेस स्थानीय तह अधिवेशनको नयाँ कार्यतालिका ?

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको आशन्न १४औँ महाधिवेशनअन्तर्गत प्रभावित भएका स्थानीय तहका अधिवेशनको नयाँ कार्यतालिका छिट्टै सार्वजनिक गर्ने जनाएको छ ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत शीर्ष नेताको बुधबार भएको बैठकले क्रियाशील सदस्यतासम्बन्धी विवाद एक-दुई दिनमै निरुपण गर्ने सहमति गरेको हो ।

क्रियाशील सदस्यता छानविन समितिका सदस्य रमेश लेखकले क्रियाशील सदस्यतामा देखिएका समस्या समाधान गर्न शीर्ष नेताहरूको बैठक सकारात्मकरुपमा अघि बढेको छ र विवाद छिट्टै निरुपण हुने बताए । क्रियाशील सदस्यतामा देखिएका समस्या समाधानपछि प्रभावित स्थानीय तहको नयाँ कार्यतालिका सार्वजनिक गरिने उनले जानकारी दिए ।

बैठकमा अन्य पार्टीबाट कांग्रेसमा प्रवेश गरेकाको सदस्यताका हकमा केन्द्रित भएर आज छलफल भएको थियो । पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको यही साउन १४ गतेको बैठकले पार्टीको क्रियाशील सदस्यतामा देखिएका बाँकी विवाद मिलाउने जिम्मेवारी नेतृत्व तहलाई सुम्पेको थियो । क्रियाशील सदस्यता विवरण ढिला विवरण प्राप्त भएका कारण र पार्टीको समायोजनका कारण बारा, सप्तरी, सिन्धुपाल्चोक, रसुवा, काभ्रेपलाञ्चोक, धनुषा, सर्लाहीलगायत जिल्लाका केही क्षेत्र र वडाको क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी छ ।

कांग्रेसले १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका तय गरेको छ । त्यस्तै यसअघिको कार्यतालिका अनुसार गाउँ-नगर वडा अधिवेशन यही साउन १२ गते, गाउँ-नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते तोकिएको थियो ।

यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन-एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भीरबाट कार खस्दा अचेत अवस्थामा भेटिएका तीन जनाको परिचय खुल्यो

काठमाडौं । मकवानपुरमा कार दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् । शनिबार बिहान …

प्रतिकृया दिनुहॊस

This will auto close after