काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक आज बस्दैछ । बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने स्थायी कमिटी बैठकका लागि माधव नेपाल र उनी पक्षका नेताहरुलाई पनि सूचना पठाइएको छ ।
यद्यपी असन्तुष्ट समूह बैठकमा सहभागी हुन्छ–हुँदैन भन्ने यकिन भएको छैन । नेपाल पक्षका कार्यदल सदस्यहरुकै सुझाव अनुसार स्थायी कमिटीको बैठक डाकिएको संस्थापन पक्षको दावी छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठक अहिले बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बस्ने छ । बैठकका लागि ३ एजेण्डा तय गरिएको उनले जानकारी दिए । ‘आजको बैठकमा मूलतः ३ एजेण्डामा छलफल गर्छाैं,’ कार्यालय सचिव तामाङले भने, ‘१० बुँदे सहमति छलफल र अनुमोदन, सर्वोच्च अदालतको फैसला र संसदमा हाम्रो भूमिका र केन्द्रीय कमिटी बैठक चाँडै राख्ने निर्णय र त्यसका एजेण्डाबारे छलफल ।’
उनले माधव नेपाल पक्षका नेताहरूलाई बैठकमा निमन्त्रणा गरिएको जानकारी दिए । ‘पार्टी जेठ २ (२०७५) मा फर्किएको हुनाले त्यसअनुसारका सदस्य सबैलाईं बैठकमा बोलाएका छौं,’ तामाङले भने, ‘सहभागी हुने नहुने त्यो उहाँहरूको पर्सनल कुरा भयो ।’
एमालेका दुई पक्ष (ओली र माधव नेपाल) एकताका लागि यसको पहलका लागि बनेको कार्यदलले यही असार २७ गते १० बुँदे सहमति जुटाएको छ ।
आजै संसदीय दलको वैठक
आजै दिउसो ३ बजे संसद भवन नयाँ बानेश्वरमा एमाले संसदीय दलको बैठक पनि बस्दैछ । प्रतिनिधिसभा पुनः स्थापना भएपछि संसदमा एमालेले खेल्ने भूमिकाबारे छलफल गर्न बैठक बोलाइएको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका छन् ।




