दक्षिण अफ्रिकामा दंगा: कम्तीमा ७२ जनाको मृत्यु

काठमाडाैँ । पूर्व राष्ट्रपति जेकब जुमा जेल परेसँगै दक्षिण अफ्रिकाको केही भागमा सुरु भएको हिंसाकाबीच त्यहाँ मृत्यु हुनेहरूको सङ्ख्या ७२ पुगेको छ ।

त्यसमा सोमवार राति सोवेटोस्थित एक सपिङ सेन्टरमा लुटपाट मच्चिएसँगै भएको भाग दौडका क्रममा मारिएका १० जना पनि समावेश छन् । तल्लो तलामा रहेका पसलहरूमा आगजनी गरिएसँगै डर्बनस्थित एक भवनबाट बच्चालाई फ्याँक्दै गरिएको दृश्य बीबीसीले कैद गरेको छ ।

प्रहरीलाई सहयोग गर्नका लागि हाल त्यहाँ सेना परिचालन गरिएको छ । दक्षिण अफ्रिकाको प्रहरीले एक विज्ञप्ति जारी गर्दै हिंसा भड्काएको हुन सक्ने १२ जनाको पहिचान भएको जनाएको छ। त्यस्तै १,२३४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

राष्ट्रपति सिरिल रामापोसाले दक्षिण अफ्रिकामा सन् १९९०को दशक यता देखिएको अप्रिय हिंसाका रूपमा पछिल्लो घटनालाई व्याख्या गरेका थिए । लुटपाटका घटना जारी रहे प्रदर्शन भइरहेका क्षेत्रहरूमा खाद्य सामाग्रीहरू सकिन सक्ने मन्त्रीहरूले चेतावनी दिएका छन् तर त्यहाँ सङ्कटकाल घोषणा गर्ने सम्भावना भने नरहेको जनाइएको छ ।

पूर्वाराष्ट्रपति जुमालाई जुन २९ तारिखमा आफ्नो नौ वर्षे कार्यकालका बेला भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा सबुत पेस गर्न दिइएको आदेश नमानेको आरोपमा १५ महिना लामो जेल सजाय सुनाइएको हो । दक्षिण अफ्रिकामा पूर्व राष्ट्रपतिलाई जेलसजाय सुनाइएको यो नै पहिलो पटक हो ।

जुमाको नेतृत्वका बेला निर्णय लिने प्रक्रिया प्रभावित पार्नका लागि राजनीतिज्ञहरूसँग साठगाँठ गरेको व्यापारीहरूमाथि आरोप लगाइएको छ । तर जुमाले भने बारम्बार आफू राजनीतिक षडयन्त्रको सिकार हुन पुगेको बताउँदै आएका छन् । सन् २०१८मा उनलाई आफ्नै दलले पदबाट बाहिरिन बाध्य पारेको भए पनि समर्थकहरूको एउटा पक्षलाई आफूसँगै राख्न उनी सफल भएका थिए ।

बच्चालाई के भयो ?
ती बच्चालाई क्वाजुलु नटाल राज्यको डर्बनस्थित एक अपार्टमेन्टमा फसेका मानिसहरूको सहयोग गर्नका लागि पुगेको भिडले समातेको थियो । भुईँ तलामा रहेका पसलहरू लुट्ने क्रममा गरिएको आगजनीले माथिका तलामा रहेकाहरूलाई प्रभाव पारेको थियो ।

बीबीसीकी नोम्सा मसेकोका अनुसार बच्चालाई समातेपछि भवनमा रहेका अन्य मानिस र बालबालिकाको उद्धार गर्नका लागि भर्‍याङ खोज्न लागिपरेका थिए । भवनबाट फ्याकिएका बच्चा र उनकी आमाको पछि पुनर्मिलन भयो । आगलागी नियन्त्रण गर्नका लागि करिब २० मिनेटपछि अधिकारीहरू आइपुगेका थिए । –बीबीसी

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री