काठमाडाैँ । चितवनको राप्ती नगरपालिका-३ निवासी २३ वर्षीया सुजिता भण्डारीको शव मृतावस्थामा फेला परेको छ । आइतबार साँझ स्थानीय ब्रह्मस्थाानी सामुदायिक वनमा शव फेला परेको हो ।
भण्डारीको अपहरण भएको भन्दै प्रहरीमा उजुरी परेको थियो । चितवन प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीका अनुसार अन्तिम पटक भण्डारीले दिदीलाई फोन गरेर आफूलाई तीन जनाको समूहले अपहरण गरेको बताएकी थिइन् । घटनाबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि खटिएको थियो ।
प्राविधिक विश्लेषणका क्रममा युवतीले भनेभन्दा फरक स्थानमा उनको लोकेशन देखिएपछि प्रहरीले उनी अपहरित नभएको हुनसक्ने आशंका गरेको थियो । उनी बेपत्ता भएपछि फिरौती वा अन्य कुनै माग राखेर कसैले सम्पर्क पनि गरेको थिएन ।
प्रहरीले भण्डारीको मोबाइलको कल डिटेल रेकर्ड (सीडीआर), एसएमएस, म्यासेन्जरलगायतका सामग्री विश्लेषण गरे पनि कुनै सुराक भेटिएको थिएन । केही महिनाअघिसम्म एक युवकसँग सम्पर्क भएको देखिए पनि पछिल्लो समय कुनै कनेक्सन भेटिएको थिएन । तर आइतबार उनको शव भेटिएपछि घटनाले नयाँ मोड लिएको छ ।
भण्डारी असार ११ गते विहान ६ बजे साथीको घर जाने भनेर हिंडेकी थिइन् । उनी सोही दिनदेखि बेपत्ता भएकी थिइन् । उनले सोही दिन १२ बजे आफ्नी दिदीलाई फोन गरेर अपहरणमा पारेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् ।




