काठमाडाैँ । गत जेठ ३० गते यता अविरल वर्षाका कारण आएको बाढी पहिरो र डुबानमा परी ३८ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिन्धुपाल्चोकमा ५, डोटीमा ४, रोल्पा र गोरखामा ३-३, चितवन, तनहुँ, प्युठान र रौतहटमा २-२, ललितपुर, खोटाङ, सप्तरी, काभ्रे, धादिङ, सिन्धुली, जुम्ला, अर्घाखाँची, दाङ, पाल्पा, कास्की, कालीकोट, पाँचथर, बझाङ र बाजुरामा एकएक जना रहेका मन्त्रालयले जनाएको छ ।
यसै गरी ५१ जना घाइते भएका छन् । घाइतेहरूको सम्बन्धित अस्पतालमा उपचार भइरहेको छ । बाढी, पहिराे र डुबानमा परी २४ जना बेपत्ता भएका छन् भने एक हजार २५० जनाको विभिन्न स्थानबाट उद्धार गरिएको छ ।
मनसुनजन्य विपदबाट झन्डै ५०० घर पूर्ण रूपमा क्षति भएका छन् भने ११२ घरमा आंशिक क्षति भएकाे छ । बाढीका कारण ७९० घर डुबानमा परेका छन् । ३९ वटा पुल, तीन विद्यालय र ११ सरकारी कार्यालयमा क्षति पुगेको छ ।
यो अवधिमा एक हजार ५७ घरका पाँच हजार १०१ मानिस विस्थापित भएका छन् । उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।




