मौसम विभागले भन्यो- यसपालि अधिक वर्षा हुन्छ, एकदमै होसियारी अपनाऊँ

काठमाडौँ । शुक्रबारदेखि नेपालको प्रवेश गरेको मनसुन देशभर पुगेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अब मनसून सक्रिय भई देशका धेरै स्थानहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेको छ । नेपालमा सामान्यतया मनसून जुन १३ मा भित्रिने र अक्टोबर २ मा बाहिरिने गरेको छ । दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चले आगामी मनसून आवधिमा नेपालका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आंकलन गरेको छ । हाल देशको पूर्वी र मध्य भूभागमा उत्तर पश्चिम बङ्गालको खाडी र आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव तथा पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको हो ।

‘यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना छ,’ विभागका प्रवक्ता सुमनकुमार रेग्मीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’ ‘साना तथा मझौला नदीहरूमा जलप्रवाह उल्लेख्य बढ्ने, साना नदीनाला तथा खहरे खोलाहरूमा आकस्मिक बहाव भई तराई र चुरे क्षेत्रहरूमा डुबानसमेत हुन सक्ने अत्यधिक सम्भावना रहेकाले मनसुनको अवधिभर आम सर्वसाधारणलगायत सम्पूर्ण सरोकारवाला निकायहरूलाई सतर्कता अपनाउन हुन अनुरोध गर्दछु ।’

यस्तो छ आज, भोलि र पर्सिको पूर्वानुमान
अहिले देशभरी मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका एक दुई स्थानमा वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

भोलि असार १ गते मंगलबार देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

असार २ गते बुधबार देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज दिनभर देशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री