एमाले स्थायी कमिटी बैठक, स्पष्टीकरण नदिएका १२ नेतालाई के गर्ला ?

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । स्पष्टीकरण सोधिएका नेताहरुलाई थप कारबाहीलगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

बिहान ११ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै आवश्यक निर्णय लिने बुझिएको छ । यसअघि आइतबार र साेमबार बस्ने भनिएको बैठक आजका लागि सरेको थियो ।

एमालेको अघिल्लो स्थायी कमिटी बैठकले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने विपक्षी एमालेका विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडालगायतका १२ जना सांसदलाई स्पष्टीकरण माग गरेको थियो । उनीहरु कसैले पनि स्पष्टीकरण बुझाएका छैनन् ।

एक नेताकाअनुसार आजको बैठकले थप १२ जना सांसदलाई कारबाही गर्न सक्नेछ । ‘अस्ति केही नेताहरु पार्टीको कारबाहीमा पर्नुभयो । फेरि केही साथीहरुले पनि पार्टीको नियम उल्लंघन गर्नुभएको छ । तर, स्पष्टीकरण बुझाउनुभएको छैन,’ उनले भने, ‘उहाँहरुको बारेमा छलफल हुनेछ । कारबाहीमा पनि पर्नसक्नुहुन्छ ।’

यसअघि विपक्षी एमालेका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्रीलगायतका ११ जना नेतालाई पार्टीबाटै निष्कासन गरेको छ । बैठकमा गत शनिबार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८/७९ को बजेटको समीक्षा पनि गरिने बताइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री