काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि आन्तरिक मूल्याङ्कनबाट हुने भएको छ । सोमबार साँझा बसेको मन्त्रिपरिषद् बैठकले अघिल्लो वर्षजस्तै यसपालि पनि आन्तरिक मूल्याङ्कनबाटै नतिज सार्वजनिक गर्ने निर्णय गरेको हो ।
यो निर्णयअनुसार विद्यालयहरुले गरेको आन्तरिक मूल्याङ्कनका विवरण सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने र शिक्षा विकास तथा समन्वय इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्नेछ । विवरणका आधारमा परीक्षा बोर्डले परीक्षाफल तयार पारेर सार्वजनिक गर्नेछ ।
गएको वर्ष विद्यालयको प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी तीन सदस्यीय मूल्याङ्कन समिति गठन गरी पहिलो त्रैमासिक अवधिको मूल्याङ्कन १० प्रतिशत, दोस्रो त्रैमासिक अवधिको मूल्याङ्कन ३० प्रतिशत र तेस्रो त्रैमासिक अवधिको ६० प्रतिशत अङ्कका आधारमा मूल्याङ्कन गरेको थियो ।




