काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको संस्थागत विकास गरी समतामूलक समाजको निर्माण गर्न गणतन्त्र दिवसले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।
गणतन्त्र दिवसमा अवसरमा आज शुभकामना दिँदै देउवाले देशका राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार गणतन्त्र सुहाउँदो नभएको बताए । ‘देशको राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदनुकूलको बन्न नसक्दा त्यसको दुष्परिणाम देशले भोग्नुपर्ने हुन्छ र आज हामी त्यो भोगिरहेका छौँ । अतः गणतन्त्र दिवसको यो मितिमा यसप्रति गम्भीरता राख्न र यो चुनौती पार गरेर अघि बढ्ने सङ्कल्प गर्न म समस्त नेपालीमा अपिल गर्दछु’ देउवाले भने ।
कोभिड-१९ को महामारीका कारण देश अहिले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको अवस्थामा संक्रमणबाट आफू जोगिन र अरुलाई पनि जोगाउन स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गर्दै उच्च सर्तकता र दृढ मनोबलका लागि सबैलाई आग्रह गरे ।
पूर्वप्रधानमन्त्री देउवाले नेपाली जनताको अभूतपूर्व त्याग र बलिदानबाट ऐतिहासिक जनान्दोलन २०६२÷६३ को सफलतापछि नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित भएको जनाउँदै लोकतन्त्रको स्थापना र पुनःस्थापनाका जनान्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात सबै शहीदप्रति उच्च सम्मानका साथ श्रद्धाञ्जलि अर्पण गर्दै गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना प्रकट गरेका छन् ।




