काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने व्यक्तिहरुलाई कारबाहीको माग गरेका छन् । नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्सहरूमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य भएको भन्दै सभापति देउवाले उक्त आक्रमणमा संलग्नहरूलाई यथाशिघ्र कारबाहीको माग गरेका हुन् ।
महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरु बिरामीको उपचारमा दिनरात खटेका भन्दै सभापति देउवाले स्वास्थ्यकर्मीमाथि भएको घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारबाही गर्न माग गरे ।
सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्सहरुमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य हो । यो महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरु बिरामीको उपचारमा दिनरात खटेका छन् । स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गर्दछु ।’




