एजेन्सी । इजरायली हवाई आक्रमणका कारण प्यालेस्टिनी क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । प्यालेष्टिनी तथा इजरायली पक्षबीच सुरू भएको द्वन्द्व आइतबार सातौं दिनमा प्रवेश गरेको छ । मृत्यु हुनेमा ५५ बालबालिका रहेको गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
इजरायली आक्रमणमा पछिल्लो २४ घण्टामा थप एक हजार २३० प्यालेस्टिनी घाइते भएको उक्त मन्त्रालयलाई उद्धृत टाइम्स अफ इजरायलले उल्लेख गरेको छ । हालको हिंसाको दौरानमा सुरु भएदेखि गाजामा मारिएकाहरू मध्ये धेरैजसो आतङ्कवादी समूहका सदस्य रहेका इजरायली सेनाले जनाएको छ ।
इजरायलले गाजा क्षेत्रमा रहेर गतिविधि गर्दै आएको हमास समूहलाई आतङ्ककारीको सूचीमा राखेको छ । सेनाले प्यालेष्टिनी समूहले गरेको रकेटको निशाना गलत हुँदा दर्जनौँ व्यक्तिको मृत्यु भएको दावी गरेको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनबिच जारी युद्ध अन्त्य गर्न आग्रह गरेका छन् । शनिबार राति दुबै देशका नेताहरुसँग टेलिफोनमार्फत् संवाद गरी बाइडेनले तत्काल हिंसा अन्त्यका लागि आव्हान गर्नुभएको अमेरिकी समाचार संस्था एपीले जनाएको छ ।




