काठमाडौं । नेपाल बङ्गलादेश बैंकले सरकारलाई ५ हजार भायल रेम्डेसिभिर सहयोग गरेकाे छ । कोभिड १९ को संक्रमण र यसबाट हुनसक्ने मृत्युबाट नेपाली जनतालाई बचाउने उद्देश्य अनुरुप ५ हजार भायल रेम्डेसिभिर सहयोग गरिएको नेपाल बङ्गलादेश बैंकले जनाएको छ।
बैंकले आफ्नो विदेशी संस्थापक बङ्गलादेशको आइएफआइसी बैंकसँग मिलेर आफनो संस्थागत सामाजिक उत्तरदयित्व अन्तर्गत नेपाल सरकारलाई उक्त सहयाेग गरेकाे हाे ।
बङ्गलादेशका लागि नेपालका राजदूत महामहिम बंशीधर मिश्रलाई ढाकास्थित नेपाली दूतावासमा नेपाल बंगलादेश बैकको संस्थापक आइएफआइसी बैंकको सहयोगमा बुधबार हस्तान्तरण गरिएको छ । उक्त औषधि बङ्गलादेशबाट नेपालका लागि पठाईसकेकोे बैंकले जानकारी दिएकाे छ ।
यसअघि पनि नेपाल बङ्गलादेश बैकले आफ्नो विदेशी संस्थापक बङ्गलादेशको आईएफआईसी र बङ्गलादेशको बेक्सिम्को फर्मास्यूटिकल कम्पनी संग मिलेर ५००० भायल रेम्डेसिभिर नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको थियो ।
बैकले सामाजिक उत्तरदायित्वलाई सधै उच्च प्राथमिकतामा राख्ने गरेको छ । हाल बैंकले ९९ शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।




