काठमाडौं । एनएमबी बैंकले आउदो ३ वर्षमा नाफा १५५ प्रतिशत बढाउने भएको छ । बैंकले थप निष्कासन (एफपीओ) ल्याउनका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा गत आर्थिक वर्षको तुलनामा नाफा १५५ प्रतिशत बढाएर ३ अर्ब ८५ करोड ३५ लाख रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको हो ।
गत आर्थिक वर्ष ०७३/०७४ मा बैंकको खुदनाफा १ अर्ब ५१ करोड १३ लाख रुपैयाँ थियो । बैंकले चालु आर्थिक वर्षमा खुदनाफा बढाएर २ अर्ब ३२ करोड ७६ लाख, आगामी आर्थिक वर्षमा ३ अर्ब ६ करोड ९९ लाख रुपैयाँ पुर्याउने जानकारी दिएको छ । नाफामा बढोत्तरी ल्याउन बैंकले ३ वर्षमा ब्याज आम्दानी बढाएर १४ अर्ब ३८ करोड रुपैयाँ पुर्याउने भएको छ । चालु आवमा ब्याज आम्दानी ९ अर्ब ४९ करोड ४५ लाख, आगामी वर्ष ११ अर्ब ५२ करोड रुपैयाँ पुग्ने प्रक्षेपण बैंकको छ ।
बैंकले जेठ ३० गतेदेखि एफपीओ ल्याउने भएको छ । बैंकले चुक्तापुँजी बढाउन १०० रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थप गरी ३३३ रुपैयाँमा एफपीओ निष्कासन गर्न लागेको हो । बैंकले प्रमियम मूल्यमा १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गर्नेछ ।एफपीओ बिक्रीबाट बैंकले ३ अर्ब ८० करोड १२ लाख रुपैयाँ संकलन गर्नेछ ।एफपीओ निष्कासनपछि बैंकको चुक्तापुँजी बढेर ७ अर्ब ६० करोड ३२ लाख रुपैयाँ पुग्ने जानकारी दिएको छ । एफपीओ निष्कासनपछि बाँकी रहेको रकम जगेडा कोषमा राखिने छ ।
एफपीओ निष्कासन बन्द छिटोमा असार ३ र ढिलोमा असार २८ गतेसम्मलाई तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ ।




