काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना महामारी भयावह बन्दै जाँदा सरकार एक्लैले यसको सामना गर्न नसक्ने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा उनले यस्तो बताएका हुन् ।
तरपनि सरकार गैरजिम्मेवार बन्दै गएको भन्दै उनले आपत्ति जनाएका छन् । ‘कोरोना संक्रमणको जुन भयावह अवस्थामा हामी छौँ, निश्चय नै सरकार एक्लैले यसको सामना गर्न सक्दैन । सबै पक्ष र आम नागरिक सचेत, सतर्क र जिम्मेवार बन्नैपर्छ । तर प्रधानमन्त्रीज्यू यो लडाइमा हामी सक्दैनौँ, भनेर मन्त्रालयले हात उठाउने अनि तपाईँको प्राथमिकतामा अझै पनि महामारी नपर्ने आपत्तिजनक छ ।’
अवस्था कठिन भएपनि स्रोतसाधन सदुपयोग गरी क्षति न्युनीकरण गर्न सकिने ठाउँ भएको नेता थापाको भनाई छ । यसका लागि प्रधानमन्त्री ओली अहंकारको धरहराबाट ओर्लनुपर्ने उनको सुझाव छ ।
कठिन छ,तर अझै हामीसंग उपलब्ध स्रोत,साधन,जनशक्तिको सदुपयोग गरेर क्षति न्यूनीकरण गर्न सकिने ठाउँ छ।त्यसका लागि उपाय जानेकाहरुको कुरा सुन्न र आवश्यक निर्णय लिन सरकार तयार हुनुपर्छ। @PM_Nepal ज्यू,हामी साथ दिन तयार छौँ,कृपया अब त अहंकार र अकर्मण्यता को धरहराबाट ओर्लनुस।(२/२)
— Gagan Thapa (@thapagk) May 1, 2021




